काठमाडौं । मुलुकमा भित्रिने रेमिट्यान्ससँगै विदेशी मुद्राको सञ्चिति पनि बढेको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई रु. २ खर्ब १५ अर्ब ५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २५.० प्रतिशतले बढेको थियो।
२०८३ असार मसान्तमा रु. ३८ खर्ब ९७ अर्ब ६७ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई २०८३ साउन मसान्तमा रु. ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा रु. ३४ खर्ब ७३ अर्ब १९ करोड रहेकोमा २०८३ साउन मसान्तमा १.३ प्रतिशतले वृद्धि भई रु. ३५ खर्ब १७ अर्ब ९९ करोड पुगेको छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले वृद्धि भई रु.३८ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.७ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिमा कुल वस्तु आयात ३१.० प्रतिशतले वृद्धि भई रु. १ खर्ब ८७ अर्ब ४४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.४ प्रतिशतले वृद्धि भएको थियो।
पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४८ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.५ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिमा चालु खाता रु. ९४ अर्ब ५९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ७८ अर्ब २९ करोडले बचतमा रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ९० अर्ब ३४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ८९ अर्ब ३० करोडले बचतमा रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
उता महँगी भने ह्वात्तै बढेको छ। २०८३ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत रहेको थियो।












