काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निराशाको एउटा स्वरुप जेनजी युवाको आन्दोलन रहेको बताएका छन्।
काठमाडौं आज आयोजित शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्यको सामूहिक पहल कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रको बुझाइका बारेमा प्रस्ट पारेका हुन्। ‘नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन बढी निर्णायक र परिवर्तनकारी राजनीतिक आन्दोलन भएपनि समयानुकूल सर्वसाधारणको जिविकामा अपेक्षाकृत सुधार हुन सकेन’, उनले भने, ‘यसकारण पनि समय–समयका राजनीतिक परिवर्तन पनि दिगो हुन सकेनन्। जनतामा निराशा बढ्नुको मुख्य कारण उनीहरुको जीवनयापन सहज हुन नसक्नु हो।’
मुलुकमा पेसा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त नभएको र यसका प्रत्याभूतिहरु सरकारी दस्तावेजमा मात्रै सीमित भएको अध्यक्ष ढकालले बताए। ‘यसको मूल कारण निजी क्षेत्रबाट हुने आर्थिक गतिविधि प्राथमिकतामा परेन वा निजी क्षेत्रको सुझावको वास्ता गरिएन’, उनले भने, ‘त्यही निराशाको एउटा स्वरुप गत भदौको जेनजी समूहका युवाको आन्दोलन हो भन्ने हाम्रो बुझाइ छ।’
मूलतः सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि भएको आन्दोलनमा गलत घुसपैठका कारण धेरैतिर आक्रमण र आगजनी भएको ढकालको ठहर छ। ‘प्रायः सबैजसो आन्दोलनमा प्रभावित हुने निजी क्षेत्र यसपटक पनि तारो बन्यो’, उनले भने, ‘महासंघको हालसम्मको अध्ययनअनुसार आन्दोलनका क्रममा करिब ४० अर्ब रुपैयाँ हाराहारीको प्रत्यक्ष भौतिक क्षति भएको छ भने झन्डै ८१ अर्ब रुपैयाँबराबरको निजी क्षेत्रले नोक्सानी व्यहोर्नुपर्यो।’
मुलुक जटिल मोडमा भएका बेला राज्यले सबै पेसा, व्यवसाय तथा क्षेत्रका नागरिकको भूमिका पनि थप जिम्मेवार र संवेदनशील खोज्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने ढकालको भनाइ थियो। ‘हामी निजी क्षेत्र पनि राष्ट्र, समाज र व्यावसायिक धर्मप्रति प्रतिबद्ध हुनुपर्छ र छौँ’, उनले भने, ‘महासंघद्वारा जारी व्यावसायिक आचारसंहितालगायत अन्य संगठनद्वारा तयार पारिएका असल व्यावसायिक अभ्यास एवं समय क्रममा थपिएका व्यावसायिक उत्तरदायित्वको निजी क्षेत्रले पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’
ढकालले खोजे यी ८ प्रश्नको जबाफ
- के ऋण, धन गरेर लगानी गर्ने व्यवसायीले सेवा दिएरै नाफाको अपेक्षा गर्नु अपराध हो ?
- होइन भने निजी क्षेत्रलाई किन सधैँ अपमानित गरिन्छ ?
- त्यतिमात्र होइन हाम्रा निजी सम्पत्तिमाथि नै आक्रमण र आगजनी हुन्छ ?
- के व्यवसायीले आफूले जोखिम लिएर धेरैलाई रोजगारी दिनु गलत हो ?
- के हामीले कर तिरेर राज्य सञ्चालनका लागि खर्च जुटाउनु गलत हो ?
- के पूर्वाधार निर्माण गर्नु र आमजनतालाई सेवा दिनु गलत हो ?
- कल्पना गरौँ, मुलुकको स्वास्थ्य, शिक्षा, पूर्वाधार, यातायात, कृषि, सूचना प्रविधि तथा वित्तीय क्षेत्रमा निजी क्षेत्रको लगानी नहुने हो भने मुलुकको अवस्था के हुन्छ ?
- हामी निजी क्षेत्रले करिब ५५ लाखलाई रोजगारी दिएका छौँ। के सरकारमात्रले त्यो रोजगारी सिर्जना गर्न सम्भव छ ?












