काठमाडौं । पूर्व सांसद सुमना श्रेष्ठले नेपालका कति प्रतिशतले वार्षिक ४० लाख रूपैयाँ भन्दा बढी कमाउने रहेछन् भन्ने तथ्याङ्क पेश गर्न सरकारलाई आग्रह गरेकी छिन् ।
उनले प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य र शिक्षा करको बचाउ गर्दै मध्यम वर्गको राहतका लागि १० लाख रूपैयाँसम्म आयमा आयकर छुट दिएको बताएका थिए। मन्त्री वाग्लेको यही अभिव्यक्ति प्रति इंगित गर्दै श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा सत्तारूढ दल प्रति कटाक्ष गर्दै यस्तो जानकारी सार्वजनिक गर्न अनुरोध गरेकी हुन्।
उनले लेखेकी छिन्, अनि करका दरहरूको कुरा गर्दा लहैलहैमा ‘हो, हो, हो’ भन्नुको साटो, एकपटक वास्तविक तथ्याङ्क मगाऔं न! नेपालका कति प्रतिशत जनताले साँच्चै ४० लाखभन्दा बढी कमाउने रहेछन्? त्यो सानो प्रतिशतका लागि कर छुट गर्दै गर्दा, कतिवटा रोजगारी चाहिँ त्यो करको दायरामा आउने रहेछन्?
अायकरमा अग्रिम कर कट्टी बुझाउँदै गर्दा, वर्षको एकपटक खुद हिसाब गर्ने व्यवस्था गर्नुपर्ने समेत माग गरेकी छिन्। उनले यस्तो व्यवस्था भएमा कुनै अवस्थामा सरकारले नागरिकलाई कर फिर्ता दिनुपर्छ होला, कुनैमा नागरिकले सरकारलाई बढी बुझाउनुपर्ने होला।
सरकारले कुतर्क गरेर अाफ्नो निर्णयको बचाउ गर्न थालेको प्रयास प्रति उनले असहमति जनाउँदै यसले समाजमा ध्रुविकरण बढाएको टिप्पणी गरेकी छिन्। उनले भनेकी छिन्, नीति निर्माण गर्दा र जनतालाई बुझाउँदा जहिले पनि अतिवादको उदाहरण दिएर दुनियाँ ‘बाइनरी डिजिट’ जस्तो कि ‘०’ हुन्छ कि ‘१’ मात्र हुन्छ भनेर व्याख्या गर्ने प्रवृत्तिले समाजमा ध्रुवीकरण धेरै नै बढाएको उनको भनाइ छ । उनले लेखेकी छिन्, गरिब सबै सरकारी स्कुल र सरकारी अस्पताल मात्र जान्छन्, अनि धनी जति सबै निजी स्कुल र निजी अस्पताल मात्र जान्छन् भन्ने भाष्य गलत हो, गलत हो, गलत हो!












