काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति पछि राहत तथा उद्धारका लागि सरकारले द्रूतगतीमा काम थालेको दाबी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले गरेका छन्।
व्यक्तिगत फेसबुक पेजमा ‘बालेन’ ले एक विज्ञप्ति जारी गर्दै बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै सरकार उद्धार तथा राहत कार्यमा पूर्ण रूपमा खटिएको जानकारी दिएका छन् ।
बाढीका कारण हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् भने कैयौँ बेपत्ता छन्। बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्।
सरकारी उद्धार टोलीले हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरेको बालेन ले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरू परिचालन गरी रातभर पनि उद्धार कार्य जारी रहने उनले आश्वासन दिएका छन्।
घाइतेहरूको निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शैय्या छुट्याइएको र प्रभावित क्षेत्रमा चिकित्सकसहितको मेडिकल टोली र स्वास्थ्य सामग्री पठाइएको उनले लेखेका छन् ।
बाढीमा हराइरहेकाहरूको खोजी कार्यलाई थप तीब्र बनाइने, विस्थापित परिवारलाई अस्थायी बसोबास र खानपिनको व्यवस्था मिलाइने तथा भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूको पुनर्निर्माण गरी जनजीवनलाई छिट्टै सामान्य बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले संकटको यस घडीमा एकताबद्ध भई राहत र उद्धार अभियानमा सहयोग पुर्याउन सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई हार्दिक अपिल समेत गरेका छन् ।
फाइल तस्वीर












