काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले कृषि पेसाको सम्मान र आत्मनिर्भरतामा उच्च प्रतिबद्धता व्यक्त गरेको छ।
प्रमुख ६ राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताअनुसार तयार गरिएको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतामा बालेन शाह नेतृत्वको सरकारले कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा दिने गरी भारसँगको व्यापार सम्झौता तथा नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन नीतिगत, कानुनी र भन्सार सुधारलगायतका कार्य गरिने प्रतिबद्धता गरेको छ।
यसैगरी कृषि उद्यम तथा उद्योगलाई विशेष प्राथमिकता दिएर कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहनका उपाय अवलम्बन गर्ने सरकारको नीति रहेको छ। भूउपयोग योजनाको पुनरावलोकन गरी बाँझो कृषि जग्गाको उपयोगसहित चकलाबन्दी तथा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गरिने सरकारले लक्ष्य लिएको छ।
कृषि नै प्रमुख पेसा र कर्म हो भन्ने मनोविज्ञानको विकास गरी यसलाई सम्मानजक र सुरक्षित बनाउन किसान क्रेडिट कार्ड, बीमा र सहुलियत ऋण उपलब्ध गराउने नीति बालेन नेतृत्वको सरकारले लिएको छ। भूमिहीन, साना किसान र सीमान्तकृत वर्गको संरक्षणका साथै साना किसानलाई कृषि उपजमा आर्थिक अनुदान प्रदान गर्ने प्रतिबद्धता सरकारको छ। योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, ऋण, सेवासुविधा र सामाजिक सुरक्षा उपलब्ध गराइने सरकारले जनाएको छ।












