काठमान्डौ । आजबाट जनरल इन्स्योरेन्सको आईपीओ खुलेको छ । प्रति कित्ता एक सयको दरले जनरल इन्स्योरेन्सले यही असोज ११ गते देखि ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।
उक्त ३० लाख कित्ता मध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ । अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।
आईपीओ असोज ११ गते देखि असोज १४ गते सम्म खुल्ने छ । असोज १४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असोज १४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असोज २५ गते सम्म समय थपिने छ । तर विगतको माहोल हेर्दा असोज १४ गते नै आईपीओ बन्द हुने छ ।
कति कित्ता आवेदन दिँदा ठीक ?
धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार २ लाख ७३ हजार जना लागानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । तर यस अघिको आईपीओको ट्रेण्ड हेर्दा ६ लाख भन्दा माथि आवेदन पर्ने देखिन्छ । विगतको ट्रेण्ड हेर्दा जनरल इन्स्योरेन्सको आईपीओमा दश कित्तामा आवेदन दिँदा ठीक हुन्छ।