काठमाडौं । नेपाल आयल निगमको इन्धन ढुवानीमा प्रयोग भएको एक ट्याङ्कर चालक र सह–चालकसहित मंगलबार विहान १ बजे लाहानबाट अपहरणमा परेको छ । नेपाल आयल निगमका अनुसार निगमको अमलेखगन्ज डिपोबाट विराटनगरका लागि २० किलो लिटर इन्धन लिएर गइरहेको ट्यांकर अपहरणमा परेको हो । यद्यपि सिराहा प्रहरीले भने अपहरणमा परेको सम्बन्धमा कुनै जवाफ दिन चाहेको छैन ।
सोमबार साँझ बाराको अमलेखगन्जबाट विराटनगर शाखाको लागि २० किलोलिटर अर्थात २० हजार लिटर डिजल लिएर त्यसतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिराहाको लाहानबाट राति १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । निगमका अनुसार इन्धन ट्याङ्कर तथा त्यसमा लोड गरिएको इन्धनको बीमा गरिएको पुष्टि गरेका छन् । २० हजार लिटर इन्धनको मूल्य झण्डै २० लाख रुपैयाँ पर्छ । इन्धन र ट्याङ्करसहितको बीमा दावी ५० लाख भन्दा माथि पर्ने प्रारम्भिक अनुमान छ । कार्यकारी निर्देशक पौडेले दिन दहाडै राजमार्गबाट ट्याङ्कर अपहरणमा पर्नु आगामी दिनमा इन्धन ढुवानीमा जोखिम बढेको बताए ।
अपहरण कसले गरेको हो भन्ने खुल्न सकेको छैन । निगमले जिल्ला प्रहरी कार्यालय सिराहालाई जानकारी गराइसकिएको जनाएको छ । सिराहा प्रहरीले अपहृत ट्याङकर तथा चालकको खोजीको लागि प्रहरी परिचालन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहा, लाहान प्रहरी कार्यालय र जिल्लाका प्रहरी प्रबक्ताले समेत अपहरणमा परेको भनिएको ट्याङ्करको अवस्थाको बारेमा केही बताउन चाहेनन् । प्रहरी चौकी लाहानका डिएसपी भेषराज रिजालले ट्याङ्कर अपहरणमा परेको सम्बन्धमा खवर आएपनि फेला नपरेको बताए ।
उता, जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिलराज बोहराले पनि २० हजार लिटर इन्धनसहितको ट्याङ्कर, चालक र सह–चालक अपहरणमा परेको सम्बन्धमा जानकारी आएको र अपहृत भएको हो वा के भएको हो भन्ने प्रहरीले अनुसन्धान सुरु गरिसकेको इन्स्योरेन्स खवरलाई बताए ।
















