काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी भई बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बीमक संघ, बीमा समिति कर्मचारी संघ तथा प्रस्तावित लाईफ इन्स्योरेन्स एशोशिएनलगायतका संस्थागत प्रतिनिधि रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईले अघिल्लो वर्षको बीमाको पहुँच बृद्धिबाट आफूहरु निकै उत्साहित भएको बताउँदै चालु आर्थिक वर्षमा पनि ‘ग्रोथ र गुड गभर्नेन्स’मा जोड दिने बताए । अध्यक्ष चापागाईले भने, अघिल्लो वर्ष हामीले राम्रो ग्रोथ गर्यौं अनि कसैलाई कारवाही गर्नु परेन । यस वर्ष पनि ग्रोथ पनि ध्यान दिऔं अनि गुड गभर्नेन्समा ध्यान दिऔं । सबैबाट राम्रो काम होस्, कसैलाई कारवाही गर्नु नपरोस् ।’