७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय ३० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ भने अझै पनि २३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकको ११ महिनाको तथ्यांक अनुसार ७ सय ३० स्थनीय तहमा मात्रै वाणिज्य बैंकको शाखा पुगेको उल्लेख छ । प्रदेश ५ को सबै १ सय ९ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ । प्रदेश ५ सबै स्थानीय तहमा बैंक शाखा पुग्ने पहिलो प्रदेश पनि बन्न सफल भएको छ ।
त्यसैगरी प्रदेश न १ मा १ सय ३७ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तहमा शाखा पुगेको छ जहाँ अझै १ स्थानीय तहमा बैंकको शाखा पुगेको छैन् । प्रदेश नं २ मा १ सय ३६ स्थानीय तहमध्ये १ सय ३४ वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ जहाँ अझै २ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ । त्यस्तै प्रदेश नं ३ मा १ सय १९ वटा स्थानीय तहमध्ये १ सय १७ वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ । जहाँ २ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तहमध्ये ८३ वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ भने २ वटा स्थानीय तहमा अझै बैंकको शाखा पुगेको छैन् । कर्णाली प्रदेशको ७९ वटा स्थानीय तहमध्ये ६९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । जहाँ १० वटा तहमा बैंक शाखा पुग्न बाँकी रहेको छ । सूदर पश्चिममा ८८ वटा स्थानीय तहमध्ये ८२ वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ भने ६ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ ।
आर्थिक वर्ष २०७५ /७६ को जेठ मसान्तसम्ममा वाणिज्य बैंकको संख्या २८, विकास बैंक ३२, फाइनान्स कम्पनी २४, लघुवित्त वित्तीय संस्था ९१ र एक पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा २०७५ असार मसान्तसम्ममा ६ हजार ६ सय ५१ रहेकोमा जेठ मसान्तसम्ममा आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ८ हजार ५ सय ६४ पुगेको छ ।