काठमाडौं । थोरै पूँजीमा आफैँ खटिएर व्यवसाय चलाउने लघु व्यवसायीका लागि नेपाल बीमा प्राधिकरणले ‘व्यवसाय सुरक्षा लघु बीमालेख’ जारी गरेको छ। बीमाङ्क रकमको १ प्रतिशतमात्रै शुल्क तिरेर यो योजनामा सहभागी हुन सकिनेछ।
लघु व्यवसायीले १५ हजार, ३० हजार र ४५ हजार रुपैयाँ बीमाङ्क छनोट गर्न सक्नेछन्। जसका लागि क्रमशः १५०, ३०० र ४५० रुपैयाँ बीमाशुल्क लाग्नेछ। विपद् वा दुर्घटनाका कारण पसल वा व्यवसाय बन्द गर्नुपरेमा छनोट गरेको योजना अनुसार प्रतिदिन क्रमशः १ हजार, २ हजार र ३ हजार रुपैयाँका दरले क्षतिपूर्ति पाइनेछ।
आगलागी, बाढीपहिरो, भूकम्प, चट्याङ, हावाहुरी, सवारी वा जनावरको ठक्कर तथा बन्दहडताल र हुलदंगाका कारण व्यवसाय पूर्ण रूपमा ठप्प भएमा अधिकतम १५ दिनसम्मको दैनिक क्षतिपूर्ति दाबी गर्न सकिन्छ। यसैगरी, दुर्घटनामा परी व्यवसायी वा परिवारको सदस्यको मृत्यु भएमा एकमुष्ठ रकम पाइनेछ ।
व्यवसायी आफैँ घाइते भई डाक्टरको सल्लाहमा अस्पताल वा घरमा आराम गर्नुपर्दा पसल बन्द भएमा पनि १५ दिनसम्मको क्षतिपूर्ति मिल्नेछ। तर, एक वा दुई दिनमात्रै व्यवसाय बन्द हुँदा दाबी लाग्ने छैन। दुई दिनभन्दा बढी समय व्यवसाय पूर्ण रूपमा बन्द भएमा भने कुनै रकम नकाटी अधिकतम दिनसम्मकै भुक्तानी दिइनेछ।
क्षतिपूर्ति पाउन दाबी फारामसँगै कम्तीमा पाँच जनाको हस्ताक्षर भएको सर्जमिन मुचुल्का, वडा वा प्रहरीको सिफारिस र उपचार वा मृत्युको प्रमाणपत्र पेश गर्नुपर्नेछ। कागजात पुगेको सात दिनभित्र बीमा कम्पनीले भुक्तानी दिनुपर्ने र विवाद भए प्राधिकरणमा उजुरी गर्न सकिने प्रावधान राखिएको छ।











