काठमाडौं । साना निर्माण कार्य गर्ने लघु व्यवसायीको जोखिम कम गर्न नेपाल बीमा प्राधिकरणले ‘ठेकेदार सम्पूर्ण जोखिम लघुबीमालेख’ कार्यान्वयनमा ल्याएको छ। यो योजनाले बहुवर्षीय सहित अधिकतम ५० लाख रुपैयाँसम्मका साना परियोजनालाई समेट्नेछ।
यो बीमा गरेपछि निर्माण अवधिभर कार्यस्थलमा रहेका भवन, संरचना वा अन्य सामग्रीमा क्षति पुगेमा वा हराएमा बीमाङ्क बराबरकै क्षतिपूर्ति पाइनेछ।
निर्माणका क्रममा तेस्रो पक्षको सम्पत्तिमा क्षति पुगे, कोही घाइते भए वा ज्यान गएमा बीमाङ्कको २० प्रतिशत रकमलाई आधार मानेर क्षतिपूर्ति दिइने व्यवस्था छ। जसअन्तर्गत मृत्यु भएमा सोही रकमको ७० प्रतिशत, सम्पत्ति क्षतिमा २० प्रतिशत र घाइतेको उपचारमा वास्तविक खर्चको १० प्रतिशतसम्म व्यहोरिनेछ। दुर्घटनापछिको भग्नावशेष पन्छाउन बीमाङ्कको २.५ प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सोही रकम उपलब्ध हुनेछ।
निर्माणाधीन संरचनाको प्रकृति र भूगोलअनुसार बीमादर फरक फरक तोकिएको छ। सामुदायिक भवन, स्वास्थ्य चौकी र सभाहलका लागि ०.२५ प्रतिशत तथा गोदाम र कोल्ड स्टोरेजका लागि ०.२२५ प्रतिशत शुल्क लाग्नेछ। सडक निर्माणमा तराईमा ०.२०, पहाडमा ०.२५ र हिमाली क्षेत्रमा ०.३० प्रतिशत दर कायम गरिएको छ भने ५० लाखसम्मका अन्य साना निर्माणमा ०.५० प्रतिशत शुल्क तोकिएको छ। काम सकिएपछिको त्रुटि सच्याउने अवधिका लागि ०.०५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने प्राधिकरणले जनाएको छ।
बीमालेखअनुसार एउटै योजनालाई टुक्र्याएर अलग अलग बीमा गर्न पाइने छैन। म्याद सकिनुअघि नै काम सकिए बाँकी अवधिको शुल्क फिर्ता हुनेछैन।
दाबी भुक्तानी गर्दा ५ प्रतिशत वा न्यूनतम ५ हजार रुपैयाँ (जुन बढी हुन्छ) कट्टा गरिने भए पनि तेस्रो पक्षको मृत्यु र उपचार खर्चमा भने पूरै रकम पाइनेछ। आवश्यक कागजात बुझाएको सात कार्यदिनभित्र बीमितको खातामा पैसा जम्मा गरिसक्नुपर्ने र चित्त नबुझे प्राधिकरणमा उजुरी दिन सकिने व्यवस्था छ।











