काठमाडौं । रसुवा भोटेकोशी नदीमा गत भदाै १० गते आएको भीषण हिमनदी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २० अर्ब ३३ करोड रुपैयाँ नाघेको छ। नेपाल बीमक संघले मंसिर ३ गतेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै कुल दाबी रकम २० अर्ब ३३ करोड १५ लाख पैसा पुगेको जनाएको हो।
निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार ५५६ वटा दाबी दर्ता भएकोमा जम्मा १०.७९ प्रतिशत अर्थात् २७६ वटा दाबी फर्छ्याैट भइसकेका छन् । २ हजार २४१ वटा दाबी अझै बाँकी छन्। हालसम्म बीमितहरूलाई अग्रिम तथा भुक्तानी समेत गरी कुल ८५ करोड ९८ लाख प्रदान गरिएको छ । भुक्तानी हुन बाँकी दाबी रकम १२ अर्ब २० करोड ८३ लाख देखिएको छ।
सरकारले भोटेकोशी र त्रिशूली नदीको बाढी प्रभावितहरूको दाबी फर्छ्याैट छिटोछरितो गर्न निर्जीवन बीमकलाई निर्देशन दिएपनि बीमितको तर्फबाट पर्याप्त कागज प्रमाण प्राप्त नभएको, स्थलगत निरिक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको लगायतका कारणले बीमकले क्षतिपूर्ती दिन ढिलासुस्ती भएको छ। जलविद्युत आयोजनाको संरचनाहरू जटिल र क्षति मूल्याङ्कनमा विदेशी पुनर्बीमकको भ्लायुएटर समेत सहभागि हुनुपर्ने भएकाले पनि क्षति निर्धारणमा ढिलाईसँगै क्षतिपूर्ती दाबी वितरणमा पनि ढिलो भएको छ।
बीमक संघको विवरणअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमातर्फ परेको छ, जहाँ ५५२ दाबीबाट करिब ९ अर्ब ४० करोड रुपैयाँ दाबी गरिएको छ। त्यसपछि इन्जिनियरिङतर्फ करिब ३ अर्ब ८३ करोड, मोटरतर्फ करिब ३ अर्ब १० करोड र सामुद्रिकतर्फ करिब २ अर्ब ४० करोड रुपैयाँको दाबी परेको छ।
कम्पनीगत रूपमा हेर्दा सबैभन्दा बढी दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ। यस कम्पनीमा २२४ दाबीबाट ६ अर्ब ७२ करोड ३४ लाख ८६ हजार ७०६ रुपैयाँ दाबी परेको छ, जसमध्ये हालसम्म कुनै दाबी फछ्र्यौट भएको छैन। दोस्रो स्थानमा रहेको सानिमा जीआईसी इन्स्योरेन्समा २४५ दाबीबाट ३ अर्ब ६१ करोड २२ लाख ३ हजार ५० रुपैयाँ ७९ पैसा दाबी परेको छ र ५३ दाबी फछ्र्यौट भइसकेका छन्।
तेस्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ, जहाँ ४७१ दाबीबाट २ अर्ब ५३ करोड ५ लाख १२ हजार ९९२ रुपैयाँ ४३ पैसा दाबी दर्ता भएको छ र १२१ दाबी फर्छ्याैट गरी ३७ करोड ८३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसकिएको छ। त्यसैगरी सलिको इन्स्योरेन्समा २३३ दाबीबाट करिब १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा २५२ दाबीबाट करिब १ अर्ब २६ करोड ३२ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६८ दाबीबाट करिब १ अर्ब २६ करोड ३२ लाख रुपैयाँ दाबी परेको छ।
अन्य कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्समा करिब ५७ करोड ६० लाख, आईजीआई प्रुडेन्सियलमा करिब ९४ करोड ७५ लाख, एनएलजीमा करिब ४९ करोड ५५ लाख, प्रभुमा करिब ४१ करोड ७८ लाख, द ओरिएन्टलमा करिब २४ करोड ३१ लाख, राष्ट्रिय बीमा कम्पनीमा करिब २ करोड ७२ लाख र नेशनल इन्स्योरेन्समा करिब ५३ लाख ३५ हजार रुपैयाँ बराबरको दाबी दर्ता भएको छ।
सबैभन्दा चाखलाग्दो विषय के छ भने युनाइटेड अजोड इन्स्योरेन्समा बीमितको तर्फबाट दर्ता भएकोमध्ये ३७ वटा दाबी फिर्ता भएको छ। दाबी फिर्ता भएको रकम हटाउँदा यो कम्पनीमा परेको कुल दाबी रकम ८३ करोड ९६ लाख रूपैयाँ रहेको छ। यसले भुक्तानी दिन बाँकी दाबी जम्मा ७२ वटा छन् ।











