काठमाडौं । भूकम्प, बाढी पहिरो जस्ता ठूला प्राकृतिक विपद्को जोखिम धान्न परम्परागत पुनर्बीमाबाहेकका नयाँ उपाय अपनाउने बाटो खोल्न बीमा ऐन, २०७९ संशोधन गर्न लागिएको छ। संशोधनको मस्यौदामा ऐनको दफा १६८ को उपदफा (२) मा नयाँ खण्ड (ङ) थपेर वैकल्पिक जोखिम हस्तान्तरणसम्बन्धी कानुनी व्यवस्था गर्न खोजिएको हो।
अहिलेको ऐनको दफा १६८ ले नेपाल बीमा प्राधिकरणलाई नियम बनाउने अधिकार त दिएको छ। तर, पुनर्बीमाबाहेकका अरु वैकल्पिक उपकरणबारे प्रस्ट केही बोलेको थिएन।
अबको संशोधनमा त्यही दफाको उपदफा २ मा खण्ड ङ थप्दै पुनर्बीमाबाहेकका अन्य वैकल्पिक जोखिम हस्तान्तरणसम्बन्धी व्यवस्था राख्न प्रस्ताव गरिएको छ। मस्यौदामा उल्लेख भएअनुसार क्याटबन्ड (महाविपत्ति ऋणपत्र)लगायतका अरु जोखिम हस्तान्तरण गर्ने उपकरणहरु चलाउन आवश्यक भएकाले यो नियम थप्न लागिएको हो।
ठूलो भूकम्प, बाढी वा महामारी आउँदा परम्परागत पुनर्बीमा कम्पनीहरु एक्लैले दाबी तिर्न नसक्ने वा पुनर्बीमा शुल्क एकदमै महँगो हुने अवस्था आउँछ। यस्तो बेला बीमा कम्पनीहरुले शेयर बजार (पुँजी बजार)मार्फत एक खालको विशेष ऋणपत्र निकालेर ठूला लगानीकर्तासँग जोखिम बाँड्छन्, जसलाई क्याटबन्ड भनिन्छ। यदि तोकिएको समयभित्र ठूलो विपद् आएन भने लगानीकर्ताले राम्रो ब्याज पाउँछन् र विपद् आइहालेमा त्यही पैसा बीमितको दाबी तिर्न प्रयोग हुन्छ।
नेपाल भूकम्प र बाढी पहिरोको उच्च जोखिममा छ। भोलि ठूलो विपद् आउँदा दाबी भुक्तानी गर्न पैसाको अभाव नहोस् भन्नका लागि यो व्यवस्थाले बीमा कम्पनीहरुको क्षमता बलियो बनाउनेछ। सधैँ परम्परागत पुनर्बीमा कम्पनीहरुको मात्र भर पर्नुपर्ने बाध्यता हट्छ र विश्व पुँजीबजारबाट समेत जोखिम बहन गर्ने स्रोत भित्र्याउन बाटो खुल्छ।
अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा भाउ बढ्दा वा उतारचढाव आउँदा त्यसको विकल्प तयार हुनेछ। जसले गर्दा लामो समयमा नेपाली बीमा कम्पनीहरुको खर्च जोगिन मद्दत पुग्छ।
नेपालको पुँजीबजारका लागि क्याटबन्ड विल्कुलै नयाँ कुरा हो। त्यसैले ऐन संशोधन भएपछि नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्ड मिलेर प्रस्ट नियमावली, मापदण्ड र भरपर्दो तथ्याङ्क प्रणाली बनाउनुपर्ने देखिन्छ।











