काठमाडौं । भगवान् श्रीरामको जन्मभूमि भारतको अयोध्या र माता सीताको जन्मभूमि नेपालको जनकपुरधामलाई प्रत्यक्ष रेल सञ्जालले जोड्ने ऐतिहासिक ‘वन्दे भारत एक्सप्रेस’ रेल सेवा आगामी मङ्सिर ७ गतेबाट औपचारिक रूपमा सुरु हुने भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह( बालेन) ले संयुक्त रूपमा भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट हरियो झण्डा देखाई उक्त रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको औपचारिक तालिका र भ्रमणका एजेण्डाहरू सार्वजनिक नभएपनि रेल सेवा उद्घाटनको कार्यक्रम तय भइसकेको छ।
भारतीय रेल मन्त्रालय (मण्डल रेल प्रबन्धक, लखनउ) द्वारा सार्वजनिक निमन्त्रणा पत्रअनुसार अयोध्या रेलवे स्टेशनमा आयोजना हुने विशेष समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवको समेत उपस्थिति रहनेछ।
अयोध्या धामदेखि जनकपुरधामसम्मको प्रस्तावित रेल मार्गको कुल लम्बाइ करिब ४६४ किलोमिटर रहेको छ। यो रेल अयोध्याबाट छुटेपछि बिहारको जयनगर हुँदै नेपालको जनकपुरधामसम्म आइपुग्नेछ। यात्रुहरूको सुरक्षा तथा भन्सार र अध्यागमन जाँच बिहारको जयनगर स्टेशनमा गरिने व्यवस्था मिलाइएको छ।
हाल नेपालमा जयनगर–जनकपुर–कुर्था–बिजलपुरा (भङ्गाहा) खण्डमा रेल सेवा सञ्चालनमा छ। जयनगरदेखि महोत्तरीको बर्दिबाससम्मको कुल करिब ६८.७ किलोमिटर लामो ब्रोडगेज रेलमार्गमध्ये हाल ५२ किलोमिटर (जयनगर–जनकपुर–कुर्था–बिजलपुरा) खण्डमा नियमित यात्रुवाहक रेल चलिरहेको छ। बाँकी बिजलपुरा–बर्दिबास खण्ड (करिब १७ किमि) निर्माणाधीन अवस्थामा छ।
नेपाल र भारतलाई जोड्ने पहिलो रेल सेवा सन् १९२७ (वि.सं १९८३) मा सुरु भएको ‘नेपाल गभर्नमेन्ट रेलवे’ हो। यो रेल भारतको बिहारस्थित रक्सौल देखि नेपालको अमलेखगञ्ज सम्म करिब ४७–४८ किलोमिटर दूरीमा सञ्चालित थियो। सुरुमा काठ ओसार्न र पछि यात्रु ओसारपसारका लागि प्रयोग गरिएको यो न्यारोगेज रेल सन् १९६५ मा त्रिभुवन राजपथ बनेपछि बन्द भएको थियो। त्यसपछि सन् १९३७ (वि. सं. १९९४) मा जयनगर–जनकपुर–बिजलपुरा रेल सेवा सुरु भएको थियो।
पुरानो न्यारोगेज रेलमार्गलाई स्तरोन्नति गरी ब्रोडगेजमा रूपान्तरण गर्न सन् २०१४ (वि.सं. २०७०) मा यो सेवा बन्द गरिएको थियो। करिब ८ वर्षको अन्तरालपछि सन् २०२२ अप्रिल २ (वि।सं। २०७८ चैत १९ गते) तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि जयनगर–जनकपुर–कुर्था खण्डमा पुनः आधुनिक यात्रुवाहक रेल सेवा सञ्चालनमा आएको हो। पछि सन् २०२३–२०२४ मा यसलाई १७ किलोमिटर विस्तार गरी बिजलपुरा (भङ्गाहा) सम्म पुर्याइएको छ।
तराई–मधेस क्षेत्रका नागरिकहरूको भारतको उत्तर प्रदेश र बिहारसँग सांस्कृतिक तथा पारिवारिक सम्बन्ध छ। प्रत्यक्ष रेल सेवाले आफन्त भेटघाट, तीर्थयात्रा, शिक्षा, स्वास्थ्य उपचार (लखनउ, गोरखपुर वा दिल्ली जान) तथा साना व्यापारिक आवतजावतलाई अत्यन्तै सस्तो, छिटो र सहज बनाउनेछ।
अयोध्यामा भव्य राम मन्दिर निर्माण भएसँगै त्यहाँ दैनिक लाखौँ पर्यटक पुग्ने गरेका छन्। अयोध्या आएका भारतीय तथा तेस्रो मुलुकका तीर्थयात्रीहरूलाई अब सिधै जनकपुरधाम ल्याउन सकिनेछ। यसले ‘रामायण सर्किट’ लाई पूर्णता दिँदै धार्मिक पर्यटनमा क्रान्ति ल्याउनेछ।
यो विस्तारित रेल सेवाबाट नेपाललाई ठूलो आर्थिक लाभ हुनेछ, तर त्यसका लागि नेपालले पूर्वतयारी गर्नुपर्ने देखिन्छ। यदि भारतीय पर्यटकहरू बिहान आएर साँझ सोही रेलमा फर्किए भने नेपालले अपेक्षित लाभ लिन सक्दैन। तर जनकपुरमा स्तरीय होटल, धर्मशाला, रात्रिकालीन गंगा आरती, मिथिला कला–संस्कृति प्रदर्शन तथा जनकपुरलाई आधार बनाएर पशुपतिनाथ, लुम्बिनी र मुक्तिनाथसम्मको टुर प्याकेज बनाएमा नेपालको सेवा क्षेत्र, रोजगारी र विदेशी मुद्रा आर्जनमा उल्लेख्य वृद्धि हुनेछ।
सन् २०१८ मे ११ (वि.सं. २०७५ वैशाख २८) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको भ्रमण गरी जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेपछि जनकपुरको अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचारप्रसार भयो। उक्त भ्रमण र ‘अयोध्या–जनकपुर मैत्री बस सेवा’ को घोषणापछि जनकपुर आउने भारतीय धार्मिक पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो। यद्यपि, पर्यटकको चाप बढेअनुसारको स्तरीय आवास र पूर्वाधार व्यवस्थापनमा अझै सुधारको खाँचो औँल्याइँदै आएको छ।
नेपालको पर्यटन उद्योगको सबैभन्दा ठूलो आधार नै भारतीय पर्यटक हुन्। नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्क (आर्थिक वर्ष २०२५/२६०) अनुसार हवाई मार्गबाट मात्र नेपाल भित्रिने कुल १२ लाख ९ हजार विदेशी पर्यटकमध्ये करिब २५ प्रतिशतभन्दा बढी (३ लाख ११ हजार ५३१ जना) भारतीय नागरिक रहेका छन्।
यसबाहेक, खुला सिमानाका कारण स्थलमार्गबाट वार्षिक १० लाखभन्दा बढी भारतीय पर्यटक पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी र पोखरा भ्रमणका लागि नेपाल आउने गरेका छन्। अफ–सिजन (वर्षा र जाडो याम) मा समेत नेपालका होटल, यातायात, क्यासिनो, धार्मिक स्थल र स्थानीय बजारलाई चलायमान राख्दै नेपालको कुल गार्हस्थ्य उत्पादन र विदेशी मुद्रा सञ्चितिमा भारतीय पर्यटकहरूले मेरुदण्डको काम गरिरहेका छन्।











