काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म बीमा कम्पनीहरुले २३ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म २३ अर्ब १ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। जसमा जीवन बीमकहरुले १५ अर्ब १० करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो भुक्तानी ७७ हजार ७०९ वटा दाबीको हो।
अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्म जीवन बीमकहरुले ५८ हजार ८६३ वटा दाबीको ११ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षको असोजसम्म जीवन बीमकहरुको दाबी भुक्तानी भएका संख्या र रकम क्रमशः ३२.०२ प्रतिशत र ३०.५२ प्रतिशतले बढेको छ।
जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम दुवै बढेको छ। चालु वर्षको असोजसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख २३ हजार ४८४ पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम ९ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ११५.४३ प्रतिशत र १०१.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असोजसम्म जीवन बीमकहरुले ५७ हजार ३२१ वटा दाबीको ४ अर्ब ९१ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो।
यसैगरी निर्जीवन बीमकहरुले चालु वर्षको असोजसम्म ७ अर्ब ९० करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो भुक्तानी ४१ हजार ३९४ वटा दाबीको हो।
अघिल्लो वर्ष असोजसम्म निर्जीवन बीमकहरुले ३२ हजार ६१५ वटा दाबीको ५ अर्ब ६४ करोड २ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा चालु वर्षको असोजसम्म भुक्तानी भएका दाबी संख्या २६.९२ प्रतिशत र भुक्तानी रकम भने ४०.१२ प्रतिशतले बढेको छ।
निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम दुवै बढेको छ। चालु वर्षको असोजसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख १३ हजार २५ पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम ६० अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः २.५१ प्रतिशत र १५.०४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असोजसम्म निर्जीवन बीमकहरुले १ लाख १० हजार २५८ वटा दाबीको ५२ अर्ब २० करोड ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो।











