काठमाडौं । नेपालको जीवन बीमा कम्पनीहरुले बेच्ने बीमालेखको आधाभन्दा बढी संख्या महिलाले ढाके पनि बीमा कम्पनीहरुको नेतृत्व र निर्णय प्रक्रियामा महिलाको उपस्थिति अत्यन्तै न्यून रहेको छ।
नेपाल बीमा प्राधिकरणको ‘इन्स्योरेन्स थ्रु अ जेन्डर लेन्सः अ फेमा मिटर एसेसमेन्ट इन नेपाल’ विषयक अध्ययन प्रतिवेदनले बीमा क्षेत्रको माथिल्लो तहमा महिला र पुरुषको उपस्थितिमा ठूलो खाडल रहेको देखाएको छ।
जीवन बीमा कम्पनीहरुको सञ्चालक समितिमा महिला सञ्चालकको उपस्थिति २२ प्रतिशत मात्र छ। अझ उच्च कार्यकारी व्यवस्थापन तह (प्रमुख कार्यकारी अधिकृत र उहाँका प्रत्यक्ष मातहतका पद) मा महिलाको पहुँच १३ प्रतिशतमा सीमित छ। प्रतिवेदनअनुसार उच्च कार्यकारी तहमा पुरुषहरुको संख्या महिलाको तुलनामा झन्डै सातगुणा बढी रहेको छ।
यसैगरी टोली प्रमुख वा म्यानेजर तहमा २६ प्रतिशत महिला छन्। यद्यपि तलबभोगी कर्मचारीमा ४० प्रतिशत र इजाजतपत्र प्राप्त अभिकर्तामा ४४ प्रतिशत महिला छन्। लघु जीवन बीमा कम्पनीहरुमा सञ्चालक समितिमा ३२ प्रतिशत महिला भए पनि कार्यकारी तहमा ११ प्रतिशतमात्र छन्। निर्जीवन बीमातर्फ सञ्चालक समितिमा १९ प्रतिशत र कार्यकारी तहमा २२ प्रतिशत महिला छन्।
तल्लो र मध्यम तहमा महिला कर्मचारीको संख्या सन्तोषजनक भए पनि माथिल्लो नेतृत्व तहमा उनीहरु पुग्न नसक्नुलाई गम्भीर विषय मानिएको छ। बीमा प्राधिकरणले यस स्थितिमा सुधार ल्याउन लैंगिक समावेशी भर्ना प्रक्रिया, उत्तराधिकारी योजना, मेन्टरसिप र महिला नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ।











