काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मधेश प्रदेशको आर्थिक स्थितिसम्बन्धी वार्षिक अध्ययन प्रतिवेदनको कृषि क्षेत्रसम्बन्धी तथ्यांक र विवरणलाई आधार मान्दा त्यहाँ कृषि प्रवर्द्धनका लागि कृषि बीमाको प्रवर्द्धन र पहुँच विस्तारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
प्रतिवेदनले मधेश प्रदेशको कृषि क्षेत्र वर्षामा आधारित रहेको र जलवायु परिवर्तनका कारण हुने अनियमित वर्षा, बाढी तथा ड्रसका कारण बालीको क्षेत्रफल र उत्पादन घटेको औँल्याएको छ। त्यसैले वर्षाको कमी वा बाढीजस्ता प्राकृतिक प्रकोपबाट हुने नोक्सानीको जोखिम न्यूनीकरण गर्न मौसम सूचकांकमा आधारित बीमा आवश्यक हुन्छ।
खाद्यान्न बाली, तरकारी, फलफूल तथा पशुपन्छी दुग्ध, माछा, मासु, बाख्रापालन आदिको व्यावसायिक उत्पादनमा आएको उतारचढाव र रोगसिटको जोखिमलाई थेग्न व्यापक बाली तथा पशुपन्छी बीमा कार्यक्रमलाई किसानको घरदैलोसम्म पुर्याउनुपर्छ।
अधिकांश साना र सीमान्त किसान सीमित जग्गामा खेती गर्ने भएकाले उनीहरुको पहुँच वित्तीय सेवामा सहज बनाउन कम प्रिमियम दरका सरल लघु बीमा योजनाहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ।
आर्थिक वर्ष २०८२।८३ मा यस क्षेत्रमा खाद्यान्न, तरकारी तथा फलफूलले ढाकेको कुल खेतीयोग्य क्षेत्रफलमा उल्लेख्य गिरावट आएको छ। विशेषगरी, मौसमको अनिश्चितता, सिँचाइको अपर्याप्तता र प्राकृतिक विपद्का कारण कृषि उत्पादनको परिमाणमा समेत संकुचन आएको तथ्यांकले स्पष्ट पारेको छ।
कृषिमा हुने यस्ता जोखिमलाई कम गर्दै किसानलाई सुरक्षा प्रदान गर्नका लागि कृषि बीमाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ। मौसममा आधारित बीमा प्रणाली र साना किसानमैत्री लघु कृषि बीमा लागू गर्नुपर्नेमा जोड दिइएको छ।












