काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८२।८३ को भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको छ।
तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको भदौसम्मको तुलनामा चालु वर्षको भदौसम्ममा १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ७ वटाको घटेको छ।
चालु आर्थिक वर्षको भदौसम्म नबिल बैंकले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३५.८३ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष भदौसम्म यो बैंकले १ अर्ब ६२ करोड ८२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म ४.०७ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। चालु वर्षको भदौसम्म यो बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष भदौसम्म बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ०.९१ प्रतिशतले बढेको छ।
नाफा वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यसैगरी सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। यो बैंकले चालु वर्षको भदौसम्म ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ।
कसको नाफा कति ?













