काठमाडौं । रसुवा भोटेकोशी बाढीका कारण यातायात, जलविद्युत र उद्योग व्यवसायमा परेको प्रभावका कारण नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३।८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा भदौ १० मा आएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछिको क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा विस्थापितको पुनर्स्थापनाका काम तीब्र हुँदै गएपछि भने आर्थिक गतिविधि बढे अागामी आ. व. २०८४।८५ मा वृद्धिदर ५.२ प्रतिशतमा पुग्ने अनुमान छ।
‘नेपाल डेभलपमेन्ट अपडेटः बिल्डिङ ब्याक डिफरेन्टली फर द फ्युचर’ प्रतिवेदनमा बाढीबाट भएको व्यापक क्षतिले आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ। भदाै १० गते रसुवाको भोटेकोशी नदीमा अाएको भीषण बाढीबाट जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण लाइन र यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमन प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ।
बाढीको ठूलो आर्थिक असर उद्योग क्षेत्रमा पर्ने भएपनि व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा देखिएको गतिरोधका कारण सेवा क्षेत्र पनि प्रभावित हुने अनुमान गरिएको छ। बाढी प्रभावित क्षेत्रका घरपरिवार र स्थानीय जनजीविकामा कृषी क्षेत्रको नोक्सानीले ठूलो असर पर्न सक्ने प्रतिवेदनले जनाएको छ।
विश्व बैंकको यसअघि गरिएको प्रारम्भिक मूल्यांकनले रसुवा बाढीलाई नेपालमा सन् १९९३ पछिको सबैभन्दा क्षति पुर्याउने बाढीका रूपमा उल्लेख गरेको छ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले बाढीले ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याए पनि पूर्वाधार र विकास प्रणालीलाई थप उत्थानशील बनाउने अवसरका रूपमा पुनर्निर्माणलाई अघि बढाउनुपर्ने बताए।
बैंकले पुनर्निर्माणमा क्षतिग्रस्त संरचना पुनःस्थापना गर्नुभन्दा पनि बहुविपद् जोखिमको पुनर्मूल्यांकन, पूर्वाधारको स्थान र संरचना डिजाइनमा सुधार तथा वैकल्पिक संरचना निर्माणलाई प्राथमिकता दिन सुझाव दिएको छ।












