काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ। प्रधानमन्त्री पद सम्हालेपछिको यो उहाँको पहिलो भारत भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ सहित औपचारिक सम्मान प्रदान गरिएको थियो भने उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो। साथै, उहाँले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुका साथै भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुभएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको थियो।
प्रमुख सहमति र घोषणाहरू
२४ अर्ब रुपैयाँको विकास सहायता: भारतले नेपालको विकास यात्रामा साथ दिँदै कुल १५ हजार करोड भारु (२४ हजार करोड नेरु / २४० अर्ब रुपैयाँ) विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसमध्ये ३ हजार ५०० करोड भारु (५ हजार ६०० करोड नेरु) विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधारका लागि अनुदानका रूपमा र ११ हजार ५०० करोड भारु (१८ हजार ४०० करोड नेरु) ऊर्जा क्षेत्रका आयोजनाका लागि सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का रूपमा प्राप्त हुनेछ। साथै, भारतको अनुदानमा चितवनमा ‘कृषि-औद्योगिक पार्क’ निर्माण गर्ने घोषणा स्वागत गरिएको छ।
‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोण: दुवै प्रधानमन्त्रीले भविष्यमुखी साझेदारीको मार्गचित्रका रूपमा विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त दृष्टिकोण पत्र अंगीकार गरेका छन्। यसमा जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्र समेटिएका छन्।
हवाई तथा पारवहन सुविधा:भैरहवा-काठमाडौँ-लखनउ (B345) एकतर्फी हवाई मार्गलाई दुईतर्फी बनाउन प्राविधिक परामर्श गरी टुङ्गो लगाउने सहमति भएको छ। पारवहन व्यापारका लागि भारतले गुजरातको दीनदयाल बन्दरगाह (काण्डला) बाट नयाँ पहुँच उपलब्ध गराउने र आवश्यक पूर्वाधार बनेपछि ओडिशाको पारादीप बन्दरगाहको सुविधा पनि दिने घोषणा गरेको छ।
रेल तथा सीमा पूर्वाधार: दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरधामबीच चल्ने **’सरयू-कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। यसका साथै प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको ‘फिल्ड लोकेसन सर्भे’ सम्पन्न भएको घोषणा गर्दै पूर्व-पश्चिम रेलमार्ग निर्माणमा सहकार्य गर्ने सहमति भएको छ। बनबासामा एकीकृत जाँच चौकी को भर्चुअल शिलान्यास र भारतको धार्चुला तथा नेपालको दार्चुला जोड्ने नयाँ मोटरेबल पुलको उद्घाटन पनि गरिएको छ।
पेट्रोलियम तथा जलविद्युत्: मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गर्दै झापामा पेट्रोलियम टर्मिनलको भर्चुअल शिलान्यास गरिएको छ। ऊर्जातर्फ ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ भने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर शीघ्र टुङ्ग्याउन तथा सप्तकोशी र सुनकोशी आयोजनाको काम अघि बढाउन निर्देशन दिइएको छ। इनरुवा–न्यु पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइनको प्रगतिप्रति सन्तोष व्यक्त गरिएको छ।
नेपालमा आईआईटी क्याम्पस: शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार गर्दै भारतले नेपालमा भारतीय प्रविधि संस्थान (IIT) को ‘अफ-सोर’ क्याम्पस स्थापना गर्ने सहमति भएको छ।
सीमा व्यवस्थापन:सीमा स्तम्भहरूको मर्मत तथा सम्भारमा भएको प्रगतिको प्रशंसा गर्दै बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ।
८ वटा समझदारीपत्र (MoUs) मा हस्ताक्षर
भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा महत्त्वपूर्ण समझदारीपत्र आदानप्रदान भएका छन्:
१. राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (गुजरात) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य।
२. राष्ट्रिय रक्षा विश्वविद्यालय (भारत) र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (नेपाल) बीच सहकार्य।
३. सुशासनका लागि राष्ट्रिय केन्द्र (भारत) र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रम।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्य।
५. भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसियाली भू-उपग्रह उपयोगका लागि ‘स्याटकम’ (SATCOM) नेटवर्क स्थापना।
६. दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य।
७. स्वास्थ्य तथा औषधि विज्ञानका क्षेत्रमा सहकार्य।
८. पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य











