काठमाडौं । नेपाल बंगलादेश बैंकले ग वर्गको वित्तीय संस्था नेपाल बंगलादेश फाइनान्स लिमिटेडलाई गाभेपछि शुरू भएको बैंकिङ क्षेत्रको मर्जरको इतिहास अहिले झण्डै दुई दशक पुरा गर्न थालेको छ।
एउटै संस्थापक समूहको लगानी, वित्तीयरूपमा संकटग्रस्त बैंक वित्तीय संस्थालाई तुलनात्मकरूपमा अन्य कुनै बैंकसँग गाभ्न दबाब दिने रणनीति अनुसार नेपाल राष्ट्र बैंकले शुरू गरेको अभियान १९ वर्ष बित्नै लाग्दा पनि अझैसम्म जारी छ।
नेपालको बैंकिङ इतिहासमा पछिल्लो मर्जर वाणिज्य बैंकहरूमा सनराइज बैंक र लक्ष्मी बैंक लिमिटेड बीचको मर्जर(२९ असार २०८०), ग वर्गको वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड( ३ असार २०८३), घ वर्गको वित्तीय संस्थाहरूमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्राप्ती(२१ भदाै २०८३) हुन् ।
वाणिज्य बैंकहरू मुख्य वाणिज्य बैंकहरू ग्लाेबल आइएमइ, एनआइसी एशिया, कुमारी बैंक, प्रभू बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल मेगा इन्भेष्टमेण्ट बैंक, नबिल बैंक, हिमालयन बैंकले अन्य वाणिज्य बैंकहरूसहित थुप्रै विकास बैंक र फाइनान्स कम्पनीहरूलाई विलय गराएका छन्। १९ वर्षको अवधिमा ५० भन्दा बढी विकास बैंक ख वर्ग र फाइनान्स कम्पनीहरू वाणिज्य बैंकहरूमा विलय भइसकेका छन्।
पछिल्लो समयमा राष्ट्र बैंकले वित्तीयरूपमा समस्याग्रस्त हुने जोखिम रहेका बैंक वित्तीय संस्थाहरूलाइ क वर्गको अन्य वाणिज्यसँग जबरजस्ती गाभ्ने वा प्राप्ती गर्ने तिर लाने रणनीति छ। बैंकिङ प्रणाली प्रति सर्वसाधारणको भरोसा टिकाई राख्नका लागि राष्ट्र बैंकले यस्तो रणनीति लिएको देखिन्छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्नु वा प्रभू बैंकले सेञ्चुरी कमर्शियल बैंकलाई मर्जर गर्नुको पछाडी राष्ट्र बैंकको यही रणनीति प्रमुख कारण थियो भन्ने आधार मिल्छ।
बैंक वित्तीय संस्थाहरू विलय हुँदा वा गाभिंदा चुक्ता पुँजीमा ठूलो वृद्धि भई ठूला जलविद्युत्, पूर्वाधार र औद्योगिक परियोजनामा लगानी गर्ने क्षमता बढेको छ। साना संस्थाको तुलनामा ठूला बैंकहरूमा जोखिम वहन गर्ने क्षमता र आधुनिक प्रविधिको पहुँच बढेको छ। देशभर शाखा र ग्राहक आधार तीव्र रूपमा विस्तार भएको छ। धेरै संस्थाहरूको संख्या घटेकाले ब्याजदर र निक्षेप तानातानमा नियन्त्रण आई बजारमा स्थायित्व आएको छ।
वित्तीय संस्थाहरूबीच भएको विलय र प्राप्तीले बैंकिङ क्षेत्रमा केही चुनाैती पनि थपिएका छन्। बैंकर्सका अनुसार, सबैभन्दा ठूलो चुनाैती दुइ फरक कार्य संस्कृती र अभ्यासबाट आएका जनशक्तिको व्यवस्थापन र परिचालन मुख्य चुनाैती हुन् । यसबाहेक कमजोर वित्तीय संस्था वा विकास बैंक प्राप्त गर्दा तिनको निष्क्रिय कर्जा वाणिज्य बैंकमा सर्नाले कुल खराब कर्जाको अनुपात(५.६ प्रतिशत) बढेको छ। पुँजी द्रुत गतिमा बढे पनि सोही अनुपातमा नाफा बढ्न नसक्दा सेयरधनीको प्रतिफल र प्रतिसेयर आम्दानी घटेको छ। साथै संस्था ठूलो र जटिल हुँदा सञ्चालन र निर्णय प्रक्रिया सुस्त बनेको छ।
नेपाल राष्ट्र बैंकको रु ८ अर्बको न्यूनतम चुक्ता पुँजीको बाध्यकारी नीतिका कारण वाणिज्य बैंकहरूको चुक्ता पुँजी र खुद सम्पत्तिमा ठूलो वृद्धि भएको छ। मर्जर अघि धेरैजसो वाणिज्य बैंकहरूको चुक्ता पुँजी रु २ अर्बदेखि रु ५ अर्बसम्म र खुद सम्पत्ति सोही अनुपातमा सीमित थियो। मर्जरपछि प्रमुख वाणिज्य बैंकहरूको चुक्ता पुँजी रु १० अर्बदेखि रु ३८ अर्बभन्दा बढी पुगेको छ भने खुद सम्पत्ति पनि रु ४० अर्बदेखि रु ६० अर्बभन्दा माथि पुगेको छ।












