काठमाडौं । भोटेकोशीको बाढीका कारण मुख्य राजमार्गहरू अवरुद्ध भई सर्वसाधारणको आवतजावत कठिन भइरहेका बेला निजी वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नबढाउन निर्देशन जारी गरेको छ।
प्राधिकरणले बुधबार सबै वायू सेवा प्रदायकलाइ निर्देशनात्मक पत्र जारी गर्दै बाढी तथा प्राकृतिक विपद्को विषम परिस्थितिमा यात्रुहरूको सुविधा र हितलाई ध्यानमा राख्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ।
नेपाल सरकारबाट स्वीकृत हवाई भाडादरको उच्चतम सीमाभन्दा कम रहने गरी हवाई टिकट उपलब्ध गराउन र हालको परिस्थिति र सर्वसाधारणको सहजतालाई मध्यनजर गर्दै समुचित तथा हाल कायम भाडादरमा वृद्धि नगर्न निर्देशन दिइएको छ।
हाल नेपालमा नेपाल वायुसेवा निगम, बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयर लगायत वायुसेवा कम्पनीहरूले घरेलु विमानस्थलहरूमा उडान भर्दै आएका छन् ।












