काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसायमा अभिकर्ताको कमिशन सुविधा एकाघरको परिवारमा दोहोरो नहुने गरी व्यवस्था गर्न दुइ वर्ष अघि नै निर्देशन दिएको तथ्य प्रकाशमा आएको छ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले मागेको रायमा नेपाल बीमा प्राधिकरणले २०८० साउन २३ गते जारी गरेको निर्देशनात्मक पत्रमा बीमकबाट दोहोरो कमिशन सुविधा दिने कार्य भए गरेको खण्डमा सो सम्बन्धी व्यवस्था खारेजी गरी अभिकर्ताले दोहोरो कमिशन सुविधा नपाउने गरी व्यवस्था गर्न निर्देशन जारी गरिएको थियो। बीमा प्राधिकरणका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले एकाघर परिवारका सदस्यको कमिशन सुविधा सम्बन्धमा नियामकीय राय मागेपछि नियामकका तर्फबाट स्पष्ट पारिएको हो ।
जीवन बीमा कम्पनीमा व्यावसायिक अभिकर्ता सञ्जाल कि फेमिली एन्ड कम्पनी ?
प्राधिकरणबाट स्पष्टरूपमा यस्तो निर्देशन जारी गरिएपनि अधिकांश जीवन बीमकले अझै पनि एकाघर परिवारका सदस्यहरूलाइ अभिकर्ता सञ्जालको तीन तहको सुविधा उपलब्ध गराइरहेको पाइएको छ।
प्राधिकरणको पत्रमा लेखिएको छ, ‘अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट जारी अभिकर्ताको आचारसंहिता र जीवन बीमा व्यवसायमा अभिकर्ताको प्रयोगबारे प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार अभिकर्ताको कमिसन सुविधा एकाघरका परिवारमा दोहोरो कमिशन प्रणाली बनाउन नहुने हुँदा तहाँ बीमकबाट त्यस्तो कार्य भए गरेको खण्डमा सोसम्बन्धी व्यवस्था खारेज गरी अभिकर्ताले दोहोरो कमिसन सुविधा नपाउने गरी व्यवस्था गर्न गराउन निर्णयानुसार जानकारी गरिएको छ।’
प्राधिकरणले व्यावसायिक अभिकर्तालाई प्रोत्साहित गर्न प्रत्यक्ष व्यवसायमार्फत प्राप्त हुने कमिशनका अतिरिक्त प्रथम बीमाशुल्कको १८ प्रतिशत बराबर थप रकम तथा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। यस्तो व्यवस्थाको उद्देश्य व्यवसायीक अभिकर्ताको प्रवर्द्धन गर्नु हो, तर कुनै परिवार विशेषका लागि अनुचित आम्दानीको स्रोतको जोहो गर्नु होइन।
घरपरिवारका सदस्यलाई यो १८ प्रतिशतको इन्सेन्टिभ सुविधा बाँडफाँटमा सञ्जालमा समेट्न केही अभिकर्ताले आफू मातहतका नवप्रवेशी अभिकर्ता, शाखा प्रबन्धक र अझै पेसाशत अभिकर्ता संघको आवरण बोकेर उच्च व्यवस्थापनलाई समेत अनुचित दबाब दिने गरेको गुनासो बढेको छ।
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका अध्यक्ष राजेन्द्र अमात्यले एकाघर परिवारका सदस्यहरु चिकित्सक, निजामती कर्मचारी, इन्जिनियरलगायतका पेशामा हुन हुने तर बीमा अभिकर्ताको पेशामा हुन नहुने भन्नु तर्क संगत नभएको बताए। उनले भने, ‘कोही कसैले सेवा सुविधा दुरुपयोग गरेको छ भने अनुगमन गर्ने र कारवाही गर्ने दायीत्व सम्बन्धित बीमक तथा नेपाल बीमा प्राधिकरणको हो।’












