काठमाडौं । जीवन बीमा कम्पनीमा व्यावसायिक जीवन बीमा अभिकर्ताको प्रवर्द्धन गर्ने उद्देश्यले लागू गरिएको तीन तह नेतृत्वमा एउटै परिवारका सदस्य हाबी हुँदा व्यावसायिक अभिकर्ता विकासमै अवरोध खडा गरेको छ।
व्यावसायिक अभिकर्ता विकासका लागि बीमाशुल्क आम्दानीका आधारमा कमिसनका अतिरिक्त १८ प्रतिशतसम्म वितरण गरिने इन्सेन्टिभ अर्थात् प्रोत्साहन रकमका लागि एकै परिवारका तीनजना सदस्य नेतृत्व शृंखलामा एक–अर्का मुनि राख्ने प्रवृत्तिले विकृति ल्याएको हो।
धमिरा बनेका अगुवा अभिकर्ता
कथित अगुवा अभिकर्ताहरुले पैसाको लोभमा अभिकर्ता नेतृत्व शृंखला भत्काउने र एकाघर परिवारका सदस्यलाई नै बिजनेस डेभलपर तथा एजेन्सी म्यानेजर पदमा नियुक्त गर्छन्। यसले व्यावसायिक अभिकर्ता उत्पादन हुँदैन, कुण्ठित हुँदै जान्छ। वर्षभरमा परिवारका सदस्यहरुबाट कति कमिसन र इन्सेन्टिभ आम्दानी भयो भन्ने गणना गर्दै यस्ता अभिकर्ताको दिन बित्छन्। सम्भावना बोकेका अभिकर्ताहरु उनीहरुले खोज्ने र सञ्जालमा समावेश गर्ने काम ठप्प हुन्छ। अनि यहीँबाट व्यावसायिक अभिकर्ता उत्पादनका लागि नेपाल बीमा प्राधिकरणको उद्देश्य माथि ग्रहण लाग्न थाल्छ।
यहाँ एउटा वास्तविक उदाहरण हेरौँ। एकजना अभिकर्ता, जो व्यावसायिक अभिकर्ताको राष्ट्रिय नेतृत्वमा पनि कार्यकारी समितिमा छन्। उनी आफू सक्रिय अभिकर्ता हुन् भन्नेमा कुनै दुईमत छैन। किनकि दिनको २४ घन्टामा उनी कम्तीमा १५ घनटा जीवन बीमा व्यवसायका लागि नै खटिएका हुन्छन्। बीमितको घरदैलो पुग्ने, बीमा खोज्ने, दिनमा कम्तीमा एउटा बीमालेख जारी गर्ने। तर, उनले आफूभन्दा माथिल्लो तहमा आफ्नी श्रीमतीलाई अभिकर्ता नेता (बिजनेस डेभलपर) नियुक्त गरेका छन्। श्रीमति विशुद्ध गृहणी हुन्। जीवन बीमालेख बिक्री गर्ने मात्र होइन, बीमाका कुनै पनि विषयमा उनी जानकार छैनन्। गृहिणी श्रीमतीभन्दा माथि उनले आफ्नो भाइलाई एजेन्सी म्यानेजर नियुक्त गरेका छन्। भाइ सामान्य व्यवसायी हुन्। भाइलाई पनि बीमाबारे कुनै जानकारी छ। न त उनलाई कुनै चासो नै छ। उनी सधैँ आफ्नो पसल व्यवसायमै व्यस्त भेटिन्छन्।
अभिकर्ता सञ्जालको तह
जीवन बीमा कम्पनीमा कुनै पनि अभिकर्ताले आफैँले प्रत्यक्ष ल्याएको व्यवसायको कमिसनबाहेक अन्य तीन तहको कमिसन पनि वितरण गरिन्छ। पहिलो तह अर्थात् सबैभन्दा तल्लो तहमा प्रत्यक्ष रुपमा नयाँ व्यवसायमा योगदान दिने अभिकर्ता पर्छन्। दोस्रो तह अर्थात् प्रत्यक्ष व्यवसाय ल्याउनेभन्दा माथिल्लो र तेस्रो तहभन्दा मुनि रहने अभिकर्ता नेता हुन्। तेस्रो तहमा तीनै तहको सबैभन्दा माथिल्लो तहमा रहेर आफूभन्दा मातहतको अभिकर्ताले गरेको व्यवसायका आधारमा प्रोत्साहन सुविधा प्राप्त गर्ने हुन्।
विशाल अभिकर्ता सञ्जाललाई व्यावसायिकतातर्फ डोर्याउन अगुवा अभिकर्ता अर्थात् लिडर एडभाइजरको भूमिका महत्वपूर्ण हुन्छ। यस्ता अगुवा अभिकर्ताले मातहतका अभिकर्तालाई नियमित रुपमा प्रशिक्षण दिने, व्यावसायिक आचारसंहिता पालना गराउने र आफ्नो सफलताको कथाका माध्यमबाट उनीहरुलाई प्रेरित गर्ने काममा महत्वपूर्ण योगदान दिन्छन्। यी विषयहरु त्यस्तो अवस्थामा मात्र कार्यान्वयन हुन्छ जब अगुवा नेता कागजी रुपमा मात्र नभएर र बीमा कम्पनीको अभिकर्ता संरचनाभित्र मात्र नभएर वास्तविक रुपमा नै अगुवा अभिकर्ताका रूपमा उभिएको हुन्छ।

नेतृत्व विकासबाट वञ्चित
यस्ता कथित अभिकर्ताको मुखुन्डो जीवन बीमा कम्पनीले आयोजना गर्ने वार्षिक सम्मान समारोहमा उजागर हुन्छ। त्यहाँ ती सक्रिय अभिकर्ताको माथिल्लो तहमा रहेका भनिएका न गृहिणी श्रीमती न त व्यावसायिक भाइको नै उपस्थिति हुन्छ। तीनैजनाको उपाधि थाप्न सक्रिय अभिकर्ता मञ्चमा उक्लिन्छन्। यस्तो प्रवृत्तिले एकजना अभिकर्तालाई र उनको सम्पूर्ण परिवारलाई प्रत्यक्ष फाइदा पुगे पनि बीमा क्षेत्रलाई दीर्घकालीन रुपमा घाटा हुन्छ। किनकि सधैँ पर्दा पछाडि राखिएका ती कथित अगुवा अभिकर्ता (बिजनेस डेभलपर र एजेन्सी म्यानेजर) कहिल्यै सार्वजनिक मञ्चमा देखा पर्दैनन्। तिनको संघर्ष र सफलता(?)को कथा अन्य अभिकर्ताले सुन्न जान्न र अनुभूति गर्न पाउँदैनन् र प्रेरित हुने अवसरबाट वञ्चित हुन्छन्।
यतिमात्र नभएर ती १५ घन्टा मैदानमै सक्रिय रहने अभिकर्ताले कुनै कारणले व्यावसायिक निरन्तरता दिन सकेन, शारीरिक वा मानसिक अशक्तताले छोप्यो भने बीमा व्यवसायमा परिवारका बाँकी सदस्यको भूमिका केही रहँदैन।
जीवन बीमकका अनुसार एउटै परिवारका तीनजना सदस्यहरु अभिकर्ता नेतृत्व शृंखलामा आबद्ध हुने विकृति नयाँभन्दा पुराना जीवन बीमा कम्पनीमा अत्यधिक छ। नयाँ बीमकले प्रारम्भमै एउटै परिवारका सदस्यहरुलाई सकेसम्म अभिकर्ता इजाजतपत्र परीक्षाका लागि सिफारिस नै गर्दैनन्। सिफारिस गरिहाले पनि एउटै शृंखलामा आबद्ध हुन बन्देज लगाउँछन्।
इन्स्योरेन्स खबरलाई व्यावसायिक अभिकर्ताहरुले विभिन्न ४ वटा जीवन बीमा कम्पनीमा एकाघर परिवारका सदस्यहरुको सञ्जालबारे विवरण नै बुझाएका छन्। उनीहरुले उपलब्ध गराएको पछिल्लो ५ वर्षको व्यवसायसहितको विवरण नियाल्दा एकाघर परिवारका सदस्यहरु समावेश भएको शृंखलामा कुनै निश्चित वर्षहरुमा व्यवसाय उल्लेख्य रुपमा वृद्धि भएको देखिए पनि एउटा समयमा आएर शिथिल हुँदै गएको देखिएको छ।
बीमक आफैँले गर्न सक्ने उपाय
जीवन बीमा व्यवसायसँग खासै सरोकार नभएका बुख्याँचा (अभिकर्ताहरुबीच डमी नामले चिनिने) अभिकर्ताहरु शाखा तथा उपशाखा कार्यालय स्तरमा केन्द्रीयस्तरबाटै सञ्चालन गरिने अभिकर्ता पुनर्ताजगी कार्यक्रममा सहभागि हुँदैनन्। न त उनीहरु क्षेत्रीय वा केन्द्रीयस्तरमा सञ्चालन गरिने सम्मान कार्यक्रममै सहभागी हुने आँट गर्छन्। यस्ता समारोहमा सम्मान ग्रहण गर्न आउने अभिकर्तालाई कुनै अन्तर्वार्ता सामना गर्नुपरे वा कुनै बीमा योजनाका विषयमा सल्लाह सुझाव दिनुपरे त्यस्तो राय दिन सक्ने क्षमता हुँदैन।
‘हाम्रो जानकारीमा भएसम्म एकै परिवारका सदस्यलाई अभिकर्ता शृंखलामा सहभागी हुन दिँदैनौँ’, एकजना प्रमुख कार्यकारी अधिकृतले आफ्नो कम्पनीको अभ्यासबारे सुनाउँदै भने, ‘शाखा भ्रमणमा जाँदा सबै अगुवा अभिकर्ता भेला गर्छाैं र अनुहारमा कन्फिडेन्स नदेखिनेलाई जीवन बीमाबारे सोधीखोजी गरेर तत्कालै सुविधाबाट वञ्चित गराउँछौँ।’
अबको बाटो
नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्तासम्बन्धी निर्देशिकामा संशोधनमार्फत भए पनि कुनै पनि बहानामा एकाघर परिवारका अभिकर्ताहरु एउटै शृंखलामा आबद्ध गर्न नपाउने गरी सख्त व्यवस्था गर्नुपर्छ। यसका लागि शृंखलामा रहेका एकाघर परिवारका सदस्यहरुलाई पनि निश्चित समय (६ महिना) भित्र शृंखलाबाट छुट्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरिनुपर्छ।
अगुवा अभिकर्ता र खासरी अभिकर्ता संगठनमा आबद्ध नेता अभिकर्ताले बीमा कम्पनीको उच्च नेतृत्वलाई दबाब र प्रभावमा पारेर आफूले चाहेको बेला, चाहेको व्यक्तिलाई नेतृत्व शृंखलामा प्रवेश गराउने वा गलहत्याउने काम गरिररहेका छन्। यस्तो व्यवस्था लागू गर्दा सीमित अभिकर्ताबाट विरोधको स्वर सुनिनु र यस्तो विरोधलाई संस्थागत आवरण दिने प्रयास नहोला भन्न सकिन्न। तर, नियामकले व्यावसायिक अभिकर्ता प्रवर्द्धनका लागि कथित र वास्तविक व्यावसायिक अभिकर्ताबीच सीमा रेखा कोर्नैपर्छ। (एआईबाट सिर्जित तस्बिर)












