काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बैंकिङ प्रणाली आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य नहुने बताएका छन्।
अर्थ मन्त्रालयमा आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘यदि सरकार आत्मविश्वासी छ, नेपाल राष्ट्र बैंक आत्मविश्वासी छ, बैंकिङ प्रणाली आत्मविश्वासी छ र निजी क्षेत्र आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य हुँदैन’, उनले भने।
अर्थमन्त्री वाग्लेले आजको छलफल नेपालको आर्थिक रुपान्तरणलाई कार्यान्वयनमा लैजाने साझा अभियानको एउटा महत्वपूर्ण चरण रहेको बताए। ‘पछिल्ला केही दिनमा मैले उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग लामो समय छलफल गर्ने अवसर पाएँ’, उनले भने, ‘ती दुवै बैठकबाट एउटा कुरा अत्यन्त स्पष्ट भएर आएको छ– निजी क्षेत्र अहिले नवीन अवसरसंगै बढी आत्मविश्वास खोजिरहेको छ। उहाँहरुलाई केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको छ।’
सबैको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा वाग्लेले जोड दिए। ‘हामीले पछिल्लो एक दशकलाई फर्केर हेर्नुपर्छ।के हामीले नीतिगत रुपमा सही निर्णयहरु गर्न सकेनौँ ? धेरै ठाउँमा सकेका थियौँ। तर, ती निर्णयहरु कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन् ?’, उनले भने, ‘किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो ? किन लगानीको आत्मविश्वास कमजोर भयो ? किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेन ? किन पुँजीबजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयो ? किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन ?’
यी प्रश्नहरु केवल समीक्षा गर्ने विषयमात्र नभएर यिनै प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्ने वाग्लेको भनाइ थियो। ‘यस वर्षको बजेटमार्फत सरकारले एउटा स्पष्ट दिशा तय गरेको छ। यो सामान्य वार्षिक बजेट होइन। यो आर्थिक सुधार र संरचनागत रुपान्तरणको रोडम्याप हो’, उनले भने।
अब नियमनको उद्देश्य केवल नियन्त्रण नभएर उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि रहेको वाग्लेले बताए। ‘हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ ? यो प्रश्न पनि हामीले आफैँसँग सोध्नुपर्छ’, उनले भने।
अर्थमन्त्री वाग्लेले सरकारका तर्फबाट आफूले आफ्नो जिम्मेवारी स्पष्ट रुपमा लिएको बताए। ‘सुधारको प्रक्रिया सुरु भइसकेको छ। आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेका छौँ’, उनले भने, ‘अब मौद्रिक पक्षबाट पनि त्यही गति, त्यही स्पष्टता र त्यही प्रतिबद्धता आवश्यक छ।’
नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रुपमा मात्र नभएर नेपालको आर्थिक रुपान्तरणको सहयात्री र सहनिर्माताका रुपमा हेर्न चाहेको पनि वाग्लेले बताए।












