काठमाडौं । नेपाल र भारतबीचको रेल कनेक्टिभिटीमा नयाँ अध्याय थपिएको छ। भारतबाट नेपालको पहिलो प्रत्यक्ष व्यावसायिक कन्टेनर मालवाहक रेलले हालै आफ्नो यात्रा पूरा गरेको हो।
नवभारत टाइम्समा प्रकाशित खबरमा रेलले ४० वटा कन्टेनरमा क्यानोला तेल बोकेको थियो। गत साता रेल कोलकाता बन्दरगाहबाट नेपालको विराटनगर भन्सार यार्डसम्म यात्रा गरेको थियो।
भारतको रेल मन्त्रालयद्वारा विज्ञप्तिमा यो नयाँ व्यवस्थाले पारवहन समय, रसद लागत र कार्गो ह्यान्डलिङ समयलाई उल्लेखनीय रुपमा घटाउने अपेक्षा गरिएको उल्लेख छ। यसका साथै सीमापार व्यापारको दक्षता, विश्वसनीयता र प्रतिस्पर्धात्मकतामा पनि सुधार गर्ने विज्ञप्तिमा जनाइएको छ।
जोगबनी र विराटनगरबीचको ब्रोड–गेज रेल लिंक सन् २०२३ जुनमा सञ्चालनमा आएको थियो।
मन्त्रालयका अनुसार नोभेम्बर २०२५ मा संशोधित विनिमयपत्र (एलओई) मा हस्ताक्षरपछि विराटनगरमा प्रत्यक्ष व्यावसायिक रेल सेवा सुरु भएको हो। यसले द्विपक्षीय व्यापार र आर्थिक सहयोगका लागि नयाँ अवसरहरु खोल्ने मन्त्रालयको विश्वास छ।
हाल दुवै देशबीच सामानहरु ट्रकद्वारा ढुवानी गरिन्छ। यो सिधा मालवाहक रेल सेवाले आयात र निर्यात कार्गोको आवागमनलाई उल्लेखनीय रुपमा बढाउने अपेक्षा गरिएको छ। किनकि यो छिटो, सस्तो र वातावरणमैत्री यातायातको माध्यम हो। यसले धेरै ह्यान्डलिङ विन्दुहरुलाई कम गर्छ। जसले गर्दा आपूर्ति शृंखलाको दक्षतामा सुधार हुन्छ।












