तराईका जिल्लाहरुमा विदेश जाने लहड नै चलिरहेको थियो। विशेषगरी खाडी मुलुकमा। महोत्तरीका लालचन्द्र महतो पनि विवाहपश्चात एक छोरीको जन्म भए पनि बेरोजगारीको पीडामा थिए। घरको आर्थिक अवस्था दयनीय थियो। हात–मुख जोड्न नै धौधौ पर्न थालेको थियो। जोसँग धन छ, उसलाई नै ऋण दिने त रहेछन्। लालचन्द्रसँग धन थिएन, त्यसैले उनलाई ऋण पत्याउने पनि कोही भेटिएनन्।
म्यानपावरको सम्पर्कमा आएर पासपोर्ट बनाएर कतारका लागि प्रयास गरे। दोस्रोपटकको प्रयासमा कामदार भिसा लाग्यो, नेपाली ४० हजार रुपौयाँको तलबमा। बेरोजगार समयमा यो नै ठूलो रकम थियो।
काखे छोरीलाई श्रीमतीको जिम्मा लगाई वैदेशिक रोजगारमा यात्रा सुरु गरे। छोरी, श्रीमती र आफन्तजनको आशीष तथा न्यानो मायालाई लिएर बिदा भए। जानेबित्तिकै काम सुरु गरे। भनेअनुसारको महिनावारी तलब आउँथ्यो। जाँदाको ऋण पनि तिरे। सबै ऋण सकाएपछि ढुक्क थिए, लालचन्द्र। समयक्रममा कम्पनीले तलब पनि बढाउँदै लग्यो। अलि–अलि ऋण गरेर जग्गा–जमिन जोडे। जीवनले नयाँ मोड लिँदै थियो।
आम्दानी राम्रो हुँदै गएको भेउ पाएपछि बिछोडिएका साथीहरु पनि सम्पर्कमा आउन थाले। एक साथी जीवन बीमा कम्पनीमा अभिकर्ताका रुपमा काम गर्दा रहेछन्। उनले सम्झाइ–बुझाइ लालचन्द्रलाई जीवन बीमा गर्न भन्न थाले। पहिले त वास्ता गरेनन् तर पछि साथीका कुरा सही लाग्न थाल्यो। लालचन्द्र विदेशमा भएकाले छोरीको बीमा गर्ने सल्लाह भयो। जसको प्रस्तावक चाहिँ लालचन्द्रलाई राखी जीवन बीमा गराए।
भौतिक रुपमा परिवारबाट टाढा भए पनि जीवन हासी–खुसी चल्दै थियो। आम्दानीले जीवनस्तर र समाजले हेर्ने दृष्टि बदलिएकोमा दंग थिए, लालचन्द्र अनि उनकी श्रीमती। विधिको विडम्बना नै भन्नुपर्छ, कामको सिलसिलामा आठौँ तल्लाबाट खसेर सख्त घाइते भए, लालचन्द्र। कम्पनीका सहकर्मीहरुले कतारमै नजिकको अस्पतालमा पुर्याए। अस्पताल पुर्याएको केहीबेरमै डाक्टरले मृत घोषित गरिदिए।
लालचन्द्रको मोबाइलबाट नेपाली साथीले घरमा फोन गरेर घटनाको विवरण जानकारी गराए। घरमा रुवाबासी सुरु भयो। कतारबाट काठमाडौं हुँदै महोत्तरी शव पुग्नेबेलासम्म पनि लालचन्द्रकी श्रीमतीको होस आएको थिएन। दाहसंस्कार सकाएर काजकिरिया सुरु भयो। यसबीचमा छोरीको जीवन बीमा गराउने लालचन्द्रका साथी समवेदना दिन घरमा आइपुगे।
शोकको माहोलमा समवेदना प्रकट गर्दै समयानुकूल मिलाएर लालचन्द्रकी श्रीमतीलाई छोरीको बीमालेख मगाए। एकछिन अध्ययन गरेपछि उनले भने यो शोकको घडीमा केही सान्त्वना दिने कुरा देखाए। अब छोरीको बीमाशुल्क बुझाउनु नपर्ने तर बीमालेख चालु रहने। यतिमात्र कहाँ हो र बीमा अवधि समाप्तिमा बीमांक रकम र आर्जित बोनस एकमुष्ट प्राप्त हुने। यत्तिले त मलम पुगेन नि ! अभिकर्ताले थपे, ’छोरीको उज्ज्वल भविष्यका लागि कम्पनीले बाँकी बीमा अवधिसम्म मूल बीमांक ५० लाख रुपैयाँको २% अर्थात १ लाख रुपैयाँ प्रत्येक महिना प्रदान गर्नेछ।’
यसरी लालचन्द्रको दुःखद् निधनले परिवारमा आउन सक्ने आर्थिक विपत्तिलाई जीवन बीमा कम्पनीले केही हदसम्म राहात दियो। सानी छोरीको लालनपालन र शिक्षामा कुनै कमी आउन दिएन। भविष्य कसैले देखेको हुँदैन। त्यसैले लालचन्द्रले जस्तै बेलैमा बुद्धि पुर्याएर जीवन बीमा गरे परिवारको भविष्य त सुरक्षित हुन्छ। परिवारका सदस्यको माया गर्ने तपाइँ हामी सबैले आजै जीवन बीमा गरौँ।
(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबबाट लिइएको हो।)












