काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्याल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा देखिएको अवरोध हटाएर निर्माणलाइ तीब्रता दिने विषयमा अायोजनाका प्रमुखसँग जानकारी लिएका छन् ।
बिहीबार सभामुखको कार्यकक्षमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसमेतको उपस्थितिमा आयोजना प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग भएको छलफलमा सभामुख अर्यालले आयोजनाको निर्माण कार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने सुझाव दिए ।
उनले भने,“यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।”
सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए । उनले भने,“स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्।”
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीब्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । आयोजना प्रमुखसँग उनले भने, “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौं।”












