काठमाडौं। चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म जीवन बीमा कम्पनीहरुले सवा ३ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्।
हाल सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीले सार्वजनिक गरेका दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीहरुले कुल ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को अवधिसम्म कम्पनीहरुले ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नाफा ४.८० प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ९ वटा कम्पनीको नाफा बढेको छ भने ५ वटाको घटेको छ। समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) अगाडि रहेको छ।
चालु वर्षको पुससम्म रिलाबयल नेपाल लाइफले ३९ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १२.९८ प्रतिशतले बढेको छ।
दोस्रो धेरै नाफा कमाउनेमा नेपाल लाइफ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले समीक्षा अवधिमा ३३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २८.०३ प्रतिशतले घटेको छ।
यसैगरी तेस्रो धेरै नाफा कमाउने कम्पनीमा नेसनल लाइफ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले २८ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म सन नेपाल लाइफले २८ करोड ५४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २७ करोड ६१ लाख रुपैयाँ, आइएमई लाइफले २७ करोड ६ लाख रुपैयाँ, एसियन लाइफले २६ करोड ३५ लाख रुपैयाँ, सिटिजन लाइफले २३ करोड १५ लाख रुपैयाँ र एलआईसी नेपालले २२ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सन नेपाल लाइफको नाफा १.११ प्रतिशत, सानिमा रिलायन्स लाइफको १९.२१ प्रतिशत, आइएमई लाइफको १.०४ प्रतिशत, एसियन लाइफको ५.३० प्रतिशत, सिटिजन लाइफको ०.२४ प्रतिशत र एलआईसी नेपालको ५८.३६ प्रतिशतले बढेको छ।
त्यस्तै चालु आर्थिक वर्षको पुससम्म हिमालयन लाइफले २० करोड ६७ लाख रुपैयाँ, मेटलाइफले २० करोड ३५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २० करोड १८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १३ करोड ३१ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ३८ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सूर्यज्योतिको नाफा बढ्दा बाँकी ४ वटा कम्पनी घटेको छ।













