काठमाडौं । लामो समयदेखि कायम न्यून ब्याजदरको अवस्थाले बीमा कम्पनीहरुको आम्दानी संरचनामा प्रत्यक्ष असर पारेको छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको प्रमुख आम्दानी स्रोत नै बैंक निक्षेप, सरकारी ऋणपत्र र दीर्घकालीन लगानी भएकाले ब्याजदर घट्दा लगानी प्रतिफलमा संकुचन देखिएको हो।
नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार हाल नेपाली बीमा कम्पनीहरुसँग लगानीयोग्य रकम ६ खर्ब रुपैयाँभन्दा बढी छ। यसमध्ये करिब ६० प्रतिशत बैंक निक्षेप र सरकारी ऋणपत्रमा लगानी गरिएको छ। बैंक निक्षेपको औसत ब्याजदर ६ प्रतिशतभन्दा तल झरेपछि बीमा कम्पनीको कुल लगानी प्रतिफल अघिल्ला वर्षको तुलनामा १–१.५ प्रतिशत अंकले घटेको छ।
यसको प्रत्यक्ष असर बीमा कम्पनीले सेयरधनीलाई बाँड्ने लाभांश दर र जीवन बीमामा बीमितलाई प्रदान गरिने बोनस दरमा देखिन थालेको छ। केही जीवन बीमा कम्पनीहरूले अघिल्ला वर्ष ७–८ प्रतिशतसम्म घोषणा गरेको बोनश दर चालु वर्ष ५–६ प्रतिशतमा सीमित हुने संकेत दिएका छन्। निर्जीवन बीमा कम्पनीहरुको हकमा नगद लाभांश घट्ने र बोनस शेयर वितरण सीमित हुने सम्भावना बढेको छ।
हालको बजार ब्याजदर र लगानी वातावरण हेर्दा आगामी केही वर्ष बीमा कम्पनीहरुको आम्दानी वृद्धिदर सुस्त रहने देखिन्छ। यद्यपि दीर्घकालीन पूर्वाधार, जलविद्युत्, ऊर्जा तथा पूँजी बजारमा वैकल्पिक लगानीको ढोका खुलेमा यो असर केही हदसम्म न्यूनीकरण हुन सक्ने बीमा क्षेत्रका जानकारहरुको भनाइ छ।
विशेषज्ञहरुका अनुसार न्यून ब्याजदरले बीमितलाई ऋण सस्तो पर्नु सकारात्मक पक्ष भए पनि दीर्घकालमा बोनस दर घट्दा जीवन बीमाप्रतिको आकर्षणमा असर पर्न सक्छ। त्यसैले बीमा कम्पनीहरुले लगानी विविधिकरण, जोखिम व्यवस्थापन र नवीन बीमा उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।












