काठमाडौं । जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी अनुपात औसतमा करिब २ प्रतिशत देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको तथ्यांकअनुसार १३ वटा जीवन बीमकको औसत सोल्भेन्सी अनुपात १.८२ प्रतिशत देखिएको हो। प्राधिकरणले जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ तोकेको छ। जब कि सबै १३ वटै जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ भन्दा माथि नै रहेको छ।
प्राधिकरणले जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ तोक्नुको अर्थ १ रुपैयाँ दायित्व चुक्ता गर्नका लागि बीमकसँग कम्तीमा १ रुपैयाँ ३० पैसाबराबरको वित्तीय सम्पत्ति रहनु हो। जीवन बीमकका लागि सोल्भेन्सीले यसको दीर्घकालीन दायित्वहरु, विशेषतः बीमितहरुमाथिको दायित्व, आफ्नै सम्पत्तिबाट चुक्ता गर्न सक्ने क्षमतालाई दर्शाउँछ। यो कुनै पनि कम्पनीको वित्तीय स्वास्थ्य र यसको वासलातको सबलताको मूल्यांकन गर्न प्रयोग गरिने एउटा महत्वपूर्ण वित्तीय मापक हो। उच्च अनुपातले बलियो वित्तीय स्थिति र अप्रत्याशित नोक्सानी व्यहोर्न र भविष्यका दायित्वहरु पूरा गर्ने बलियो क्षमतालाई संकेत गर्छ।
तथ्यांकअनुसार जीवन बीमकमध्ये रिलायबल नेपाल लाइफको सोल्भेन्सी अनुपात सर्वाधिक २.५५ छ। प्राधिकरणले जीवन बीमकका लागि १.३ सोल्भेन्सी अनुपात कायम गरेकोमा यो लगभग दोब्बर नजिक हो।
सोल्भेन्सी अनुपात सन नेपाल लाइफको २.४४, आइएमई लाइफको २.४ र मेटलाइफको २.०८ रहेको छ।
यसैगरी हिमालयन लाइफको सोल्भेन्सी अनुपात सबैभन्दा कम १.३२ छ। यो भनेको प्राधिकरणले तोकेको न्यूनतम सीमाको नजिक हो।













