काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिले उल्लेख्य मात्रामा कर्मचारी संख्या कटाैती गर्न बुधबार घोषणा गरेको यो योजना साउन २६ गतेसम्म लागू हुनेछ। घोषित योजना अनुसार, ऐच्छिक अवकाश योजना रोज्ने कर्मचारीले दशैं बोनशसहित न्यूनत्तम १२ महिनाको तलब प्राप्त गर्नेछन् । यसबाहेक कर्मचारीले सेवा अवधिको आधारमा थप २ देखि १४ महिनाको कुल मासिक आधारभूत तलबसँगै ग्रेड र भत्ता सहित तलब भुक्तानी पाउने प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले जारी गरेको सूचनामा उल्लेख छ।
कम्पनीका अनुसार, दुई देखि ४ वर्ष सेवा अवधिका लागि २ महिना, ४ देखि ७ वर्ष पुरा भएकालाई ५ महिना, ७ देखि १० वर्ष पुरा भएकालाई ८ महिना, १० देखि १३ वर्ष पुरा भएकालाई ११ महिना र १३ वर्षभन्दा माथि सेवा अवधि पुरा भएकालाई १४ महिनाको थप तलब सुविधा दिइनेछ।
कार्यालय सहयोगी, चालकदेखि लिएर सहायक प्रमुख कार्यकारी अधिकृत वा सो भन्दा माथिल्लो तहसम्मको कर्मचारीलाई समेत लक्षित गर्दै अवकाश योजना घोषणा गरिएको छ।
२०८१ असार मसान्तसम्ममा ७७५ कर्मचारी कार्यरत रहेको यो कम्पनीले यस पटकको स्वेच्छिक अवकाश योजना अन्तर्गत १३० जना कर्मचारीलाई अवकाश दिने लक्ष्य राखेको छ। स्वेच्छिक योजनामा सहभागिताका लागि आवेदन दिएपनि स्वीकृत गर्ने वा नगर्ने निर्णय सञ्चालक समितिको निर्णयमा निर्भर हुनेछ।
तीनवटा कम्पनीबीच मर्जरका कारण कर्मचारी संख्या २०८० चैत्रमा ७८५ पुगेको यो कम्पनीमा जनशक्ति भार अधिक देखिएको छ। देशैभर शाखा सञ्जाल रहेका ठूला बीमकको हकमा ४५० जना सम्म जनशक्ति रहनु उपयुक्त हुने भएपनि हिमालयन लाईफसँग दुई तिहाई अधिक जनशक्ति कार्यरत छन् ।
साबिक युनियन लाईफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स र गुराँस लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिएर हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई २०८० बैशाख २६ गतेबाट संयुक्त कारोबार शुरू भएको थियो ।
यसअघि २०८० सालमा पहिलो पटक स्वेच्छिक अवकाश योजना लागू गरेको हिमालयन लाईफले सीमित कर्मचारीलाई मात्र अवकाश योजनामा सहभागी गराएपछि आफूहरूलाई स्वेच्छिक अवकाशको अवसर नदिइएको भन्दै क्षतिपूर्तीवापतकाे रकम माग गर्दै असन्तुष्ट कर्मचारीले कार्यालयको मुल ढोकामै अनशन बसेर आन्दोलन समेत गरेका थिए।

















