IME Life New

सम्पत्ति शुद्धीकरण निवारण र बीमा क्षेत्रको जिम्मेवारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

पछिल्लो समयमा देखापरेका आर्थिक गतिविधिमा सुस्तताले समग्र अर्थतन्त्रको विस्तार नै संकुचित हुँदै गएको अवस्था छ। यो अवस्थालाई सम्बोधन गर्न सरकारले गरेका प्रयास सार्थक साबित हुन सकेको छैन। बैंक तथा वित्तीय संस्थाबाट संकलित निक्षेपले ऐतिहासिक अंक पार गरिसक्दासमेत ऋण लगानीको अंक र लगानी विस्तार दुवै झन् झन् संकुचित हुँदै गएको छ।

अन्यौलताबीच विभिन्न पक्षबाट शृंखलाबद्ध प्रदर्शन र प्रदर्शनकारीसामु राज्यको निरीहताले आमनागरिकमा नैरास्यता बढाएको छ। सरकारले अभिभावकको नाताले नागरिकमा आशाको सञ्चार गराउन सक्नुपर्नेमा प्रमुख सत्तारुढ दल सत्ता लिप्सामै केन्द्रित हुनु दुःखद् हो। वित्तीय क्षेत्रलाई प्रत्यक्ष प्रभावित पार्ने नियामकीय निकायमा योग्यता नै नपुगेका र कुनै निश्चित कर्पोरेटले रुचाएका व्यक्तिको नियुक्तिले विकृतिको जोखिम झनै बढाएको छ।

Crest

दातृ संस्था विश्व बैंकको नेपाल विकास प्रतिवेदन २०२५ ले नेपालको अर्थतन्त्रले विभिन्न खालका सम्भावित जोखिमहरुको सामना गरिरहेको औँल्याएको छ। अपेक्षित मुनाफा नहुँदा लगानी संकुचनको जोखिमदेखि बैंकहरुको खराब कर्जा बढ्ने र सरकारी नीतिमा अस्थिरता आउनेसम्मका चुनौतीले मुलुकको आर्थिक वृद्धिलाई असर पार्न सक्ने चेतावनी दिइएको छ।

विश्व बैंकले नेपालको अर्थतन्त्र चालु आर्थिक वर्षमा ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा बैंक तथा बीमा क्षेत्रको वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहने अनुमान गरेको छ।

बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको ब्याजदर ५ देखि ६ प्रतिशतको हाराहारीमा सीमित भएपछि यसको केही लाभ जीवन बीमा व्यवसायले प्राप्त गर्न थालेको छ। एकल बीमाशुल्क भुक्तानी गरिने बीमालेखको बिक्री दोब्बर बढेको छ। पर्याप्त बचत हुनेका लागि यो अवसर भए पनि आमनागरिकसँग भने पर्याप्त बचत हुन नसक्दा जीवन बीमामा लगानी गर्न सक्ने क्षमता कमजोर हुँदै गएको छ। यसले बीमाको लाभ विस्तार गर्ने लक्ष्यमा तगारो खडा गर्ने जोखिम बढ्दै गएको छ।

उद्योग–व्यापारको गतिविधिमा संकुचनसँगै सम्पत्ति बीमा र व्यापारिक मालवस्तुको बीमाको माग खुम्चिँदै गएपछि निर्जीवन बीमा व्यवसायमा विकृति देखा पर्न थालेका छन्। व्यवसाय आकर्षित गर्ने होडबाजीमा निर्जीवन बीमकहरु व्यावसायिक ग्राहकलाई ‘क्यास ब्याक अफर’ दिइरहेका छन्।

निराशाबीच पनि बीमा क्षेत्रले पछिल्लो समयमा सूचना प्रविधिको अपनाउने क्रमलाई उल्लेख्य रुपमा अँगाल्न थालेको छ। भूउपग्रह मौसमी सूचनामा आधारित कृषि बाली बीमा, डिजिटल प्रविधिमा आधारित सहुलियत कार्ड र डिजिटल वालेटबाटै बीमालेख कर्जा उपभोग गर्न सकिने सुविधा सुरु गरिएको छ। प्रविधिको प्रयोगले सर्वसाधारणमाझ अझै छरितो र सहज ढंगबाट बीमाको लाभ विस्तार गर्न योगदान पुर्याउनेमा दुईमत छैन।

पछिल्लो समयमा जीवन बीमा व्यवसायमार्फत सम्पत्ति शुद्धीकरणको जोखिम बढेको तथ्यांकले पुष्टि गरेको छ। बैंक तथा वित्तीय संस्था हुन् वा कुनै सार्वजनिक निकायका भ्रष्टाचारी आरोपी अधिकारीविरुद्धको छानबिनका क्रममा अवैध स्रोतबाट आर्जित रकमलाई वैध बनाउन जीवन बीमाको प्रयोग भएको तथ्य फेला पर्ने क्रम बढेको छ। सम्पत्ति शुद्धीकरण निवारणमा गम्भीर नभएको भन्दै नेपाल राष्ट्र नै ‘ग्रे लिस्ट’ मा परेका बेला बीमा क्षेत्रमा हुने लापरबाहीले यसलाई झनै प्रवर्द्र्धन गर्छ। त्यसैले बीमाका माध्यमबाट सम्पत्ति शुद्धीकरण हुन नदिनका लागि बीमा क्षेत्रमा कार्यरत सबैजना जिम्मेवार हुनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS