काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म जीवन बीमा कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा बीमा कम्पनीले चालु आर्थिक वर्षको पुससम्म १ करोड ३३ लाख ७२ हजार १०९ वटा बीमालेख जारी गर्दै ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले १ करोड ३७ लाख ४१ हजार ३५५ वटा बीमालेख (वैदेशिक रोजगार बीमालेखसहित) जारी गर्दै ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकको व्यापार ८.६८ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा जीवन बीमकको व्यापार बढेको छ भने एउटाको घटेको छ। सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार वृद्धिदरका हिसाबले सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ अगाडि रहेका छन्।
चालु आर्थिक वर्षको पुससम्म नेपाल लाइफले २२ अर्ब ४५ ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २० अर्ब २ करोड ३१ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नेपाल लाइफको व्यापार १२.१६ प्रतिशतले बढेको छ।
दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष ८ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १२.१४ प्रतिशतले बढेको छ।
धेरै व्यापार गर्ने तेस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले ९ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ८ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको व्यापार ९.६६ प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको पुसम्म हिमालयन लाइफले ८ अर्ब ३३ करोड ८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड ५७ लाख रुपैयाँ, एसियन लाइफले ४ अर्ब २१ करोड ८६ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड ४ लाख रुपैयाँ र मेट लाइफले २ अर्ब ८६ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको व्यापार २.९३ प्रतिशत, सूर्यज्योति लाइफको १६.२६ प्रतिशत, एसियन लाइफको १३.१४ प्रतिशत, सिटिजन लाइफको २३.६० प्रतिशत, सानिमा रिलायन्स लाइफको १३.४९ प्रतिशत र मेट लाइफको ६.७८ प्रतिशतले बढेको छ।
त्यस्तै चालु आर्थिक वर्षको पुससम्म राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ४४ करोड १ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ४१.६९ प्रतिशतले घट्दा आइएमई लाइफको १५.७२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १९.०९ प्रतिशत, रिलायबल नेपाल लाइफको २३.४१ प्रतिशत र सन नेपाल लाइफको १२.५२ प्रतिशतले बढेको छ।