इन्स्योरेन्स खबर/काठमाडौं । पछिल्लो पटक बैंकान्स्योरेन्स सम्झौतामा आक्रामक बनेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र गरिमा विकास बैंक लिमिटेड बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।
विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स पनि एक महत्वपूर्ण कार्य रहेको यस बैंकका सीईओ ढकालले बताए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति सुहाँउदा विभिन्न किसिमका नयाँ–नयाँ जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिति जनाउने लक्ष्य लिएको छ । यही लक्ष्य प्राप्तिका लागि इन्स्योरेन्सले गरिमा विकास बैंकबाट आफ्नो जीवन बीमालेखहरु बिक्री गर्नुका साथै बैकको शाखा सञ्जाल प्रयोग गरी देशका कुना-कुनामा बीमाको पहुचँ बिस्तार गर्ने आशा लिएको छ ।