काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका लागि कार्यतालिका तयार पारेको छ । आगामी जेठ १५ गते सार्वजनिक हुने बजेट वक्तव्यका लागि मन्त्रालयले गएको चैत एकगतेदेखि नै आवस्यक काम सुरु गरिसकेको छ । चैत एक गतेदेखि यहि २४ गतेसम्म बजेट तथा कार्यक्रम महाशाखा तथा सम्बन्धित महाशाखाबाट बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरु सम्बन्धित महाशाखाबाट लिनेकाम गर्नेछ ।
आजैदेखी अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यभार सम्हालेका छन् । उनको काधमा संकटग्रस्थ अर्थतन्त्रलाई सुधार हुने गरी बजेट ल्याउनु पर्ने दायित्व छ । विगका अर्थमन्त्रीले सस्तो लोकप्रियताका लागि बढाएका सामाजिक सुरक्षाका खर्च कटौतीदेखि लिएर अहिलेको नियमित खर्च कटौती गरेर विकास खर्च बढाउने नीति अख्तियार गर्नु पर्ने बाध्यता रहेको छ ।
यस्तो छ मन्त्रालयले बजेटका लागि तय गरेको कार्यतालिका
१) चैत १ देखि २४ : बजेट तथा कार्यक्रम महाशाखा तथा सम्बन्धित महाशाखाबाट बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरु सम्बन्धित महाशाखाबाट लिनेकाम हुनेछ ।
२) चैत १५ देखि २०८० बैशाख १० गतेसम्म : बजेट तथा कार्यक्रम महाशाखाले बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरी सुझाव संकलन गर्ने ।
३) चैत १९ देखि २४ गतेसम्म : राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल हुने ।
४) चैत २० गते : राजस्व व्यवस्थापन महाशाखाले विभागहरुलाई बजेट तर्जुमा सम्बन्धमा पोलिसी पेपर तयार गरी चैत २० भित्र पेश गर्न पत्राचार गर्ने ।
५) चैत २१ गते : राजस्व व्यवस्थापन महाशाखाले राजस्व परामर्श समितिमा प्राप्त सूचनाहरुउपर छलफल तथा सम्बन्धित निकायसँग छलफल गरी प्रतिवेदन तयार गर्ने ।
६) चैत २४ गतेसम्म : बजेट तथा कार्यक्रम महाशाखाले एलएमबीआईएसमार्फत विषयगत मन्त्रालयहरुले बजेट प्रस्ताव गर्ने ।
७) चैत २६ देखि २८ गतेसम्म : बजेट तथा कार्यक्रम महाशाखा र वित्तीय संघीयता समन्वय महाशाखाले बजेटका उद्देश्य प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत छलफल गर्ने (अन्तर सरकारी परिषदको बैठक) ।
८) चैत २६ देखि २०८० बैशाख २० गतेसम्म : संघीय मन्त्रालय र सम्बन्धित प्रदेशको आर्थिक मामिला तथा योजना सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल गर्ने (ससर्त अनुदान), बजेट तथा कार्यक्रम महाशाखाले मन्त्रालयसँग बजेट कार्यक्रम र खर्च शीर्षकगत छलफल गर्ने ।
९) बैशाख २ देखि २५ गतेसम्म : अन्तर्राष्ट्रिय आर्थिक सहायता मन्त्रालय महाशाखा र बजेट तथा कार्यक्रम महाशाखाले वैदेशिक स्रोतअन्तर्गत प्राप्त हुने रकम एकिन गरी बजेटमा राख्ने ।
१०) चैत २६ देखि २०८० बैशाख २५ गतेसम्म : सचिवले बजेट सुझाव संकलन (राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्री, पूर्वगर्भनर, पूर्वअर्थसचिव एवं विज्ञबाट) ।
११) बैशाख २० गते : वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले सार्वजनिक संस्थाहरुको प्रगति विवरण छपाइका लागि प्रेसमा पठाउने ।
१२) बैशाख २१ गतेभित्र : बजेट वक्तव्य मस्यौदा लेखन समितिले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने ।
१३) बैशाख २५ गते : अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय सांसदका दुबै सदनमा पेश गर्ने र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्राविधिक सहायता तथा अन्य गैरसरकारी संस्थामार्फत परिचालन हुने सहायता एकिन गर्ने ।
१४) बैशाख ३० गते : आर्थिक नीति विश्लेषण महाशाखाले आर्थिक सर्वेक्षणलाई अन्तिम रुप दिइ छपाइका लागि प्रेसमा पठाउने र सोही दिन प्रशासन महाशखाले मन्त्रालयगत प्रगति विवरण छपाइका लागि प्रेसमा पठाउने ।
१५) जेठ १ गते : बजेट वक्तव्य मस्यौदा लेखन समितिले बजेट वक्तव्य मस्यौदा तयार गर्ने (पहिलो मस्यौदा) ।
१६) जेठ ५ गते : राजस्व परामर्श समिति र राजस्व व्यवस्थापन महाशाखाले प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश गर्ने ।
१७) जेठ ६ गते : बजेट वक्तव्य मस्यौदा लेखन समिति, राजस्व व्यवस्थापन महाशाखा, बजेट तथा कार्यक्रम महाशाखाले राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङका लागि मस्यौदा तयार गर्ने ।
१८) जेठ १० गते : अर्थमन्त्रीले राष्ट्रपतिलाई बजेट ब्रिफिङ गर्ने, सोही दिन बजेट तथा कार्यक्रम महाशाखाले व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयार गर्ने (त्रिवर्षीय खर्च अनुमानसहित तयार गर्ने) र बजेट तथा कार्यक्रम महाशाखाले बजेटको खर्च शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार गर्ने ।
१९) जेठ १२ गते : प्रशासन महाशाखा तथा बजेट तथा कार्यक्रम महाशाखाले व्यय अनुमानसम्बन्धी किताब छपाइका लागि प्रेसमा पठाउने ।
२०) जेठ १३ गते : राजस्व व्यवस्था महाशाखा र कानून तथा फैसला कार्यान्वयन महाशाखाले आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने, अर्थमन्त्री र बजेट लेखन समितिले बजेट वक्तव्यलाई अन्तिम रुप दिने ।
२१) जेठ १४ गते : अर्थमन्त्री र सचिवले राष्ट्रिय योजना आयोग र नेपाल सरकारलाई ब्रिफिङ गर्ने, सोही दिन राजस्व व्यवस्थापन महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा र कानून तथा फैसला कार्यान्वयन महाशाखाले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाइका लागि पठाउने, यसै दिन प्रशासन महाशाखा बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशखाले बजेट वक्तव्य र स्रोत पुस्तिका छपाइका लागि पठाउने, अर्थमन्त्रीले संघीय संसदका दुबै सदनमा आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेश गर्ने ।
२२) जेठ १५ गते : अर्थमन्त्रीद्वारा संघीय संसदको दुबै सदनमा बजेट पेश गर्ने ।