काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि विक्रीमा ल्याएको कुमारी सुनौलो लगानी योजनाको इकाईमा चैत २३ गतेसम्म आवेदन दिन सकिने भएको छ । योजनाको इकाई छिटो अवधि आज चैत १३ गतेसम्म रहेपनि माग बमोजिम आवेदन प्राप्त नभएकाले ढिलो अवधि चैत २३ गतेसम्म विक्री गरिने जनाएको छ । उक्त मितिभन्दाअघि मागभन्दा बढी आवेदन प्राप्त भएमा विक्री बन्द गर्ने जनाएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई विक्री गरेको हो । कुल इकाईमध्ये ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्काशन मार्फत विक्री खुला गरिएको हो । बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरीद विक्रीका लागि खुल्ला गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्काशनमा आएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् । यस योजनाको कुल आकार १ अर्बको रहनेछ ।
यस योजनाको इकाई निष्कासनका लागि लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले योजना व्यवस्थापकलाई व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्ने इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ ।
कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
योजनाको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।