काठमाडौं । एआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइमा निष्कासनको ३ कार्य दिनमै मागभन्दा बढी आवेदन परेको छ।
एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’को प्रतिइकाई मूल्य १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ लाख २० हजार वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक एनआईसी एसिया बैंकको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ असोज ७ गतेदेखि असोज १३ गतेसम्म बिक्री खुला गरिएको छ। मागभन्दा बढी आवेदन प्राप्त भएको हुँदा यस योजनाको इकाइ भोलि बुधबार बैंकिङ समयपश्चात खरिद आवेदन बन्द गरिने क्यापिटलले जनाएको छ।
यस योजनामा आज साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढीको इकाइ खरिदको लागि आवेदन परेको छ। स्वीकृत विवरण पुस्तिकामा रहेको व्यवस्थाअनुसार उक्त योजनाको आकार ८० कारोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको हुँदा उक्त योजनाको इकाइ खरिद गर्नका लागि भोलि असोज १३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।
यो १० वर्ष अवधि रहेको छैटौँ बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने योजना व्यवस्थापकले जनाएको छ।
उक्त योजनामा संकलित रकम भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र राम्रो ग्रोथ सम्भावन भएका कम्पनीहरुमा अध्ययन र अनुसन्धान गरी लगानी गरिने क्यापिटलले जनाएको छ। उक्त योजनाको न्यूनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सकिन्छ भने इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र सीडीएससीको मेरो शेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ।
उक्त योजनाको इकाइ खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोष जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाइ खरिद गर्न आवेदन दिन सक्ने छन् ।












