काठमाडौं । एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको हो । सभा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।
सभाले आर्थिक वर्ष २०७८ /७९ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा, नोक्सान, हिसाव, नगद प्रवाह लगायतका वित्तीय अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।
त्यस्तै, सभाले आथिृक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने, यस अघिको लेखापरीक्षकलाई नै पुनःनियुक्त गर्ने प्रस्ताव अनुमोदन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।
सभाले बैंकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर प्रकृया अगाडि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सोका लागि सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्नका लागि मुल्यांकनकर्ता नियुक्त गर्ने, स्वाप रेसियो निर्धारण गर्ने, सोका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा कुनै संशोधन आवश्यक भएमा सो गरि सोको अभिलेख गराउने लगायत सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बैंबैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाब भएमा सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पारितगरेको जनाएको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।












