IME Life New

बीमकहरुको लागि सहज छैन यसपटकको असार मसान्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं: जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरु यतिखेर व्यापारको अंकलाई लिएर तनावमा छन् । वर्षभरको कूल व्यवसायको ३० प्रतिशतभन्दा बढी प्रथम बीमाशुल्क आम्दानी हुने असारको तेश्रो र चौथौ साता जीवन बीमा कम्पनीहरुको लागि ज्यादै नै महत्वपूर्ण हुन्छ।
असार मसान्तको समय कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि आफ्नो कुशल व्यवस्थापन प्रमाणित गर्ने अवसर मात्र नभएर बजार विभागका कर्मचारी र शाखा, उपशाखा प्रबन्धकहरुको लागि समेत उत्कृष्ट कार्य सम्पादन गरेर साउन महिनामा पदोन्नति हात पार्ने तयारी गर्ने सही मौका पनि हो असार मसान्त ।
वर्षभर सुस्त देखिने अभिकर्ताहरु समेत यतिबेला जुर्मुराएका छन् । आर्थिक वर्ष २०७७/७८ को अन्त्यमै भए पनि व्यवसायीको लक्ष्य पुरा गरेर आगामी आर्थिक वर्ष भरको लागि बीमा कम्पनीबाट प्राप्त हुने अतिरिक्त लाभ सुनिश्चित गर्न अभिकर्ताहरु यतिबेला अहोरात्र खटिएका छन् । कोरोना महामारी पूर्वका वर्षहरुमा होटल, रेष्टुरेन्टमा संभावित बीमितलाई संभाव्य व्यवसायको आधारमा मदिरापानसम्म गराएरै भएपनि बीमा गर्नको लागि प्रेरित गर्ने कार्य समेत हुन्थ्यो ।
ठूलो बीमांकको जीवन बीमा गर्ने बीमितले भुक्तानी गर्ने बीमाशुल्कबाट प्राप्त कमिशनकै रकमबाट समेत अभिकर्ताले बीमितलाई वर्षको एक पटक थाइल्याण्डलगायतको अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको नि:शुल्क शयरको प्रबन्ध मिलाइदिने गरेका थिए।
अभिकर्ताहरुले शुरुको वर्षमा संकलन हुने प्रथम बीमाशुल्कबाट २५ प्रतिशत कमिशन बाहेक झण्डै १८ प्रतिशत थप अतिरिक्त लाभ बीमा कम्पनीहरुबाट प्राप्त गर्छन् ।
यस पटक कोरोना महामारीको कारण वैशाख यता जीवन बीमा व्यवसायको वृद्धि सुस्त देखिएको हुँदा असारमसान्तमा अपेक्षित व्यवसायीक लक्ष्य हासिल गर्न बीमकहरुलाई हम्मे हम्मे परिरहेको छ। बैशाखको तुलनामा जेठ महिनामा प्रथम बीमाशुल्क आम्दानीमा आएको गिरावटले पनि यसको संकेत गरेको छ ।
यसकारण अप्ठेरोमा छन् जीवन बीमक:
गत आर्थिक वर्षमा जस्तो यस पटक बीमकहरुलाई नियामकीय निकायबाट जे पनि गर्न छुट छैन । बीमा समितिको अध्यक्ष पद सम्हाले यता सूर्य प्रसाद सिलवालले बीमा कम्पनहरुको छिद्र बन्द गर्ने एकपछि अर्को निर्णय र निर्देशन जारी गरिरहेका छन् । जीवन बीमा कम्पनीको लागि छोटो समयमै ठूलो रकमको बीमाशुल्क आर्जन गर्ने माध्यम बनेको एकल बीमाशुल्क बीमा योजनामा नियामक निकायले बीमालेख जारी गरेको ३ वर्ष पछि मात्र कर्जा प्रवाह गर्न पाइने प्रावधान लागू गरेको छ । यसअघि बीमालेख जारी भएको दोश्रो दिनमै बीमालेख कर्जा जारी हुँदै आएको थियो । त्यसैगरी बीमालेखको धितोमा बैंकहरुबाट कर्जा प्रवाहमा समेत बीमा समितिले रोक लगाएको छ ।
पहिले दोश्रो वर्षको नविकरण बीमाशुल्क भुक्तानी भएलगत्तै बीमितले बीमालेखमा समर्पण मूल्य र कर्जा सुविधा पाउने गरेका थिए तर गतवर्ष देखि तेश्रो वार्षिक किस्ता तिरेपछि मात्र बीमालेखमा कर्जा प्रवाह गर्न बीमा समितिले निर्देशन दिएको कारण कर्जा लिएर पुनः नयाँ बीमा गर्ने प्रवृत्तिमा पनि आंशिकरुपमा अंकुश लागेको छ।
बालबालिकाको जीवन बीमामा पनि सबै सन्तानको समान बीमांकको बीमालेख जारी गर्नुपर्ने प्रावधान लागू गरिएपछि अप्ठेरो थपिएको छ। बालबालिकाको हत्या भएको प्रतिनिधिमीमूलक घटनालाई लिएर बीमा समितिले कडीकडाउ गरेको हो ।
वार्षिक ५ प्रतिशतको दरले बीमाशुल्क फिर्ता दिने वार्षिक धनफिर्ता जीवन बीमा योजना नेपालको जीवन बीमा कम्पनीहरुभित्र धमिरा सरह प्रवेश गरेको छ । यो बीमा योजना कतिको हानिकारक छ भन्ने तथ्य ‌केही बीमकको कमजोर बोनश दरले नै पुष्टी गरिसकेको छ ‌।
अभिकर्ता कर्जामा पनि कसिकसाउ:
अभिकर्ताहरुलाई बीमा कम्पनीहरुले बिना धितो कर्जा प्रवाह र अन्य ‌सुविधा प्रदान गरिरहेकोमा बीमा समितिले त्यसमा पनि कडिकडाउ गरिसकेको छ । असार मसान्तभित्रममा अभिकर्तासँग सबै कर्जा असुल्न दिएको निर्देशन बीमा समितिले अभिकर्ताहरुको संस्थागत दबाबमा फिर्ता लिएपनि नयाँ कर्जा प्रवाह गर्न छुट दिएको छैन । यसो नहुँदा बीमकले अभिकर्तालाई कर्जा दिने अनि अभिकर्ताले कर्जाकै रकम हालेर  आफ्नो वा अरु कसैको जीवन बीमा गराउने प्रवृति रहेको थियो ।
साथै बीमा कम्पनीहरुले अभिकर्ताको व्यवसायीक लक्ष्य पुरा नहुँदै जिन्सी लगायतका प्रवर्द्धनात्मक सामाग्री वितरण गर्न समेत बीमा समितिले बन्देज लगाइदिएको छ । र महिनाको अन्तिम दिनमै त्यस महिनाको इन्सेन्टिभको लागि योग्य ‌भएका अभिकर्ताको संख्या सहितको विवरण मागेर बीमकहरुलाई अप्ठेरो पारिदिएको छ । यस्तो प्रावधान अघि बीमकहरुले अर्को महिनाको १० गतेसम्म पनि पुरानै महिनाको मितिमा कारोबार जारी राख्ने प्रवृत्ति बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS