घरमै पुग्छ अभिकर्ता लाईसेन्स

बीमा कम्पनीहरुले अहिले घरमा नै पुगेर बीमा अभिकर्ता लाईसेन्स वितरण गर्न थालेका छन् । व्यवसाय बढाउँने प्रतिस्पर्धामा कम्पनीहरुले घरमा नै पुगेर लाईसेन्स प्रदान गर्न थालेका हुन् ।

पछिल्लो समयमा तालिम बिना नै लाईसेन्स वितरण हुन थालिएको कर्मचारीहरु नै बताउँछन् । नयाँ कम्पनी थपिएसँगै अभिकर्ता बिच प्रतिस्पर्धा बढ्न थाले पछि झनै यस्तो विकृति बढेको एक कर्मचारीले बताए ।

 

के छ ऐनमा
अभिकर्ता भनेको बीमा कम्पनी र बीमित बिचको मध्यस्र्थकर्ता हुन् । जसले दुई पक्ष बिच पुलको काम गर्छ । बीमा क्षेत्रमा अभिकर्ताको व्यवस्था अन्तराष्ट्रिय अभ्यास नै हो ।
बीमा ऐन २०४९ ले बीमा अभिकर्ता भन्नाले बीमकको तलबी कर्मचारी नभई कमिशनको आधारमा बीमकको तर्फबाट काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति सम्झनुपर्छ । सोही ऐनको दफा ३० का अनुसार बिमा अभिकर्ताको रुपमा काम गर्न चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले सम्ब्न्धित बीमकको सिफारिश सहित समितिमा निवेदन दिनु पर्नेछ ।
निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा इजाजत पत्र दिन हुने देखिएमा निवेदकलाई तोकिएको दस्तुर लिई तोकिए बमोजिमको ढाँचामा बीमा अभिकर्ताको इजाजत पत्र दिनु पर्नेछ र इजाजत पत्र दिनु नपर्ने कुनै कारण भएमा त्यसको जानकारी समितिले सम्बन्धित निवेदकलाई दिनुपर्नेछ ।
बीमकले सञ्चालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका २०७२ का अनुसार बीमा अभिकर्ताले कम्तिमा पनि ७२ घण्टाको तालिम लिएको हुनुपर्नेछ । तालिम अवधि ७५ प्रतिशत भन्दा कम हुनेलाई प्रमाणपत्र प्रदान गर्न नहुने व्यवस्था गरेको छ ।
समितिले नै तालिम आयोजना गर्नुपर्ने यस अघिको व्यवस्था अनुसार बीमा समितिले नै अभिकर्ताको तालिम सञ्चालन गर्ने गथ्र्यो । समितिले सञ्चालन गरेको सात दिनको तालिममा सहभागी भएका व्यक्ति नै अभिकर्ताको लाईसेन्स पाउनको लागी योग्य हुन्थे ।
तर, पछिल्लो एक दशक देखि समितिले बीमा कम्पनीहरुलाई नै अभिकर्ता तालिम सञ्चालन गर्ने अनुमति दिएको छ । तालिमका सम्बन्धमा समितिले उचित अनुगमन नगर्ने भएकाले पनि यस्तो विकृति मौलाएका सरोकारवालाहरु बताउँछन् ।
योग्य छैनन प्रशिक्षक
बीमकले सञ्चालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका अनुसार कम्पनीहरुले प्रत्येक बर्ष प्रशिक्षको लिष्ट निकाल्न सक्नेछन् । स्नातक तह उर्तिण गरी सम्बन्धीत ज्ञान हासिल गरेको व्यक्ति नै प्रशिक्षक बन्न पाउँने व्यवस्था छ । तर, निर्देशिकामा व्यवस्था गरिए बमोजिमका योग्यता नभएका व्यक्तिले पनि तालिम सञ्चालन गर्दै आएका छन् ।
त्यति मात्रै नभएर सामान्य अभिकर्ताले नै अभिकर्ता तालिम सञ्चालन गर्ने गरेको सरोकारवालाहरु बताउँछन् । यस्ता खालका अभिकर्ताले दिने तालिममा नव प्रवेशीलाई अरु कम्पनीलाई गाली गर्ने, होच्चाउने र नकरात्मक सन्देश दिएर आफनो कम्पनीको पोलिसी बेच्न सिकाउँने गरेको उनीहरुले बताए । यदि यस्तो अवस्था रहि रहने हो भने नेपालको बीमा बजार एक दिन ध्वस्त हुने उनीहरु बताउँछन् ।
बीमा अभिकर्ताको आचार संहिता यस प्रकार छन्। 
बीमा अभिकर्ताले पालना गर्नुपर्ने कुराहरु:
-बीमा अभिकर्ताले बीमा समितिबाट प्राप्त बीमाको किसिम समेत खुलेको बीमा अभिकर्ताको इजाजत पत्र सधै साथमा राख्नु पर्नेछ र ग्राहकले चाहेमा त्यस्तो इजाजतपत्र देखाउनु पर्नेछ ।
-बीमा अभिकर्ताले ग्राहकलाई आफु अभिकर्ता भएको बीमक बारेको यथार्थ विवरण (पुँजीगत संरचना, लगानी नीति, आर्थिक स्थिति आदी) मात्र जानकारी गराउनु पर्नेछ ।
-बीमा अभिकर्ताले ग्राहकलाई प्रस्ताव फाराममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरु खुलाउन लगाई त्यससँग सम्बन्धित कागजात ग्राहकबाट लिई बीमक समक्ष पेश गर्नु पर्नेछ ।
-बीमा अभिकर्ताले ग्राहकलाई बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधा बारे पूर्ण जानकारी गराउनु पर्नेछ ।
-बीमा अभिकर्ताले ग्राहकको पेशा, सामाजिक हैसियत र स्तरबारे बीमकलाई छुट्टै जानकारी दिनु पर्नेछ ।
-बीमा अभिकर्ताले आवश्यकता अनुसार बीमकलाई अण्डरराइटिङ्ग कार्यका लागि आवश्यक पर्ने थप विवरण उपलब्ध गराउनु पर्नेछ ।
-बीमा अभिकर्ताले बीमितले अनुरोध गरेमा निर्दिष्ट समयमा बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने, इच्छाइएको व्यक्ति परिवर्तन/चयन गर्ने, बीमालेख बापत ऋण लिने, दावी गर्ने वा आवश्यक अन्य बीमा सम्बन्धीसेवा पुयाउन सहयोग गर्नु पर्नेछ ।
-बीमा अभिकर्ताले ग्राहकलाई बीमाको प्रस्ताव स्वीकृति बारे बीमकको निर्णय अविलम्ब जानकारी गराउनु पर्नेछ ।
-ग्राहकले बीमा अभिकर्ता मार्फत बीमाशुल्क रकम बुझाएमा अविलम्ब त्यस्तो रकम बुझेको आधिकारिक भरपाई वा रसिद बीमा अभिकर्ताले ग्राहकलाई दिनुपर्नेछ र त्यस्तो बीमाशुल्क काबु बाहिरको अवस्थामा बाहेक संभव भएसम्म सोही दिन र संभव नभए भोलिपल्टसम्म सम्बन्धित बिमकलाई दाखिला गर्नुपर्नेछ ।
-बीमा प्रस्ताव फाराम, स्वास्थ सम्बन्धी विवरण फाराम आदि प्रस्तावकले भर्नुपर्न फारामहरु प्रस्तावकहरु स्वयंबाटै भराउनु पर्नेछ । प्रस्तावक निरक्षर वा असमर्थ भए प्रस्तावकले विश्वास गरेको व्यक्तिबाट त्यस्ता फारामहरु भराउनु पर्नेछ ।
बीमा अभिकर्ताले गर्न नहुने कुराहरु यस प्रकार छन् :
-बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण नगरी बीमा बस्तु बिक्रि गर्नु हुँदैन ।
-बीमा अभिकर्ताले ग्राहकबारे आफुले थाहा पाएको कुनै पनि बीमासंग सम्बन्धित आवश्यक विवरणहरु सम्बन्धित बीमकलाई नबताई लुकाउनु हुदैन ।
-बीमा अभिकर्ताले ग्राहक बारेको आफुलाई जानकारी भएको विवरणहरु सम्बन्धित बीमक बाहेकका व्यक्ति/संस्था सामु प्रकट गर्नु हुँदैन ।
-बीमा अभिकर्ताले ग्राहक प्रति दुव्र्यवहार गर्नु हुँदैन ।
-बिमा अभिकर्ताले ग्राहकलाई अनावश्यक करकाप गर्नु हुँदैन ।
-ग्राहकलाई प्रलोभनमा पार्न आफुले प्राप्त गर्ने कमिशनको कुनै पनि अंश दिन वा दिन्छ भनी कबोल गर्नु हुँदैन ।
-बीमा अभिकर्ताले अस्वस्थ प्रतिस्पर्धा गरी अन्य बीमा अभिकर्ताको व्यवसायमा अनावश्यक दखल पुयाउन हुँदैन ।
-बीमा अभिकर्ताले बीमालेख बापत प्राप्त हुने रकमको कुनै पनि अंश बीमित वा बीमितको हकवालाबाट लिनु हुँदैन ।
-बीमा अभिकर्ताले निर्धारित बीमादर उलंघन गरी व्यवसाय हात पार्ने कार्य गर्नु हुँदैन ।
नियम बमोजिम अभिकर्ताको रुपमा दर्ता कायम नहुने अवस्थामा अभिकर्ताको रुपमा कार्य गर्नु हुँदैन ।
-बीमा अभिकर्ताले (संस्थाको भए सो को संचालक) ले कुनै पनि बीमकको तलबी कर्मचारी भै काम गर्नु हुदैन ।
-कुनै बीमकको बीमा अभिकर्ता भै कार्यरत व्यक्ति वा संस्था वा सो संस्थाका संचालक वा निजको नजिकको नातेदारले कुनै पनि बीमकको संस्थापक वा संचालक हुन वा कुनै पनि बीमकको १० प्रतिशत वा सो भन्दा बढी शेयर लिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार