काठमाडौं । क्रेष्ट माइक्रो इन्स्योरेन्सकी फरार पूर्व सञ्चालक मृदुला सरियालाई नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरेको छ।
नेपाल सरकारले बीमा ऐन अन्तर्गत हिमालयन रिइन्स्योरेन्सका प्रवद्धकद्वय दिपक भट्ट, सुलभ अग्रवाल सहित ४१ जनाविरूद्ध सामूहिकरूपमा मुद्दा दायर गर्दा सरियालाई पनि अभियुक्त बनाइएको थियो। सुलभ अग्रवालको फुपुको बुहारी समेत रहेकी सरिया मुद्दा दायर हुनु अघि देखि नै फरार थिइन्।
नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ गते बीमा सम्बन्धी कसूरमा अभियोग पत्र दायर गर्दा मृदुलालाई फरार अभियुक्तका रूपमा उल्लेख गरिएको छ। यसबाहेक धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसूरमा पनि सरिया विरूद्ध काठमाडाैं जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ।
सुलभ अग्रवाल, उनकी फुपु रेणु अग्रवाल, फुपुकी बुहारी मृदुला सरियाबीच क्रेष्ट इन्स्योरेन्स ब्रोकरको नाममा झापामा मृदुलाको स्वामित्वमा रहेको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार भएको समाचार इन्स्योरेन्स खबरले प्रकाशन गरेपछि नेपाल बीमा प्राधिकरणले यस विषयमा पनि अनुसन्धान गरेको थियो। मृदुलाको स्वामित्वमा रहेको जग्गा खरिदका लागि क्रेष्ट इन्स्योरेन्स ब्रोकरले भुक्तानी दिएको, यस्तो भुक्तानीवापतको रकम आफ्नी सासु आमा रेणुलाई मृदुलाले दिएको र रेणु मार्फत् सुलभ अग्रवालको हातमा जग्गा किनबेचको रकम पुगेको विषयमा इन्स्योरेन्स खबरले सप्रमाण समाचार प्रकाशन गरेको थियो।
यसैबीच उच्च अदालत पाटनले व्यवसायी शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले अग्रवाललाई मुद्दाको थप अनुसन्धान तथा न्यायिक प्रक्रियाका लागि थुनामा पठाउने आदेश दिएको हो। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अब उनी पुर्पक्षका लागि थुनामै रहेर कानुनी प्रक्रिया अगाडि बढ्नेछ। अग्रवालका जेठा छोरा सुलभ अग्रवाल पनि सम्पत्ती शुद्धिकरण लगायत मुद्दामा थुनामै छन् ।












