IME Life New

साउनबाट बीमा कम्पनीको ९०% पेपरको काम रोक्छौँः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आउँदो साउन १ गतेबाट बीमा कम्पनीहरुको ९० प्रतिशत पेपरको काम रोक्ने बताएका छन्।

सिफ्ट पिक्सेलले आज काठमाडौंमा आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रममा अध्यक्ष सिलवालले अब बीमा कम्पनीहरु डिजिटल बेसमा अगाडि बढ्नुपर्ने बताएका हुन्। ‘अब हामी अपडेट हुनुपर्ने बेला भइसकेको छ। अब कागजमा लेखेर, कागजको राश राखेर कारोबार गर्छौं भन्ने कुरा नगर्दा हुन्छ’, उनले भने, ‘किनकि प्राधिकरणले साउन १ गतेपछि बीमा कम्पनीहरुको ९० प्रतिशत पेपरको काम रोक्छ। अब कम्पनीसँग हाम्रो डिजिटल्लीमात्रै कुराकानी हुन्छ। डिटिल्लीमात्रै कारोबार हुन्छ।’

Esewa
Crest

डिजिटल्ली अगाडि बढ्ने विषयमा बीमा कम्पनीहरुसँग प्राधिकरणले अनुरोध गरिसकेको अध्यक्ष सिलवालले बताए। ‘बीमा कम्पनीहरुले पनि अब इनोभेसनमा लगानी गर्नुपर्छ। प्रविधिमा लगानी गर्नुपर्यो’, उनले भने, ‘बीमा कम्पनीले त्यस्ता प्लेटफर्ममा लगानी गर्नुपर्छ, जसले उनीहरुलाई सशक्त बनाउन मद्दत गरोस्।’

बीमा कम्पनीहरुले हच्किने भन्दा पनि प्रविधि सिक्नुपर्ने सिलवालले बताए। ‘किनकि तपाइँहरुको हातमा मोबाइल छ, संसार त्यसैमा छ’, उनले भने, ‘नेपालमा ८५ प्रतिशत मानिसले मोबाइल चलाउँछन्। त्यो ८५ प्रतिशत मान्छेहरुसम्म तपाइँहरुले पनि सिकेर पुग्नुपर्छ। तपाइँहरुको सुरक्षणम कसरी गर्नुपर्छ भनेर प्राधिकरणले गर्छ। तर, १० पानाको पोलिसी बेचेर बीमितलाई बुझ्नै नसक्ने अवस्था बनाएर अब पोलिसी बेच्न सकिने अवस्था हुँदैन।’

मान्छेका विचारहरुमा परिवर्तन हुँदै गएको उल्लेख गर्दै सिलवालले मान्छेको व्यवहारमा परिवर्तन हुँदै गएको बताए। ‘मान्छेसँग समय छैन। मान्छे ठूलो फेमलीबाट न्युक्लियर फेमलीमा आइसकेको छ’, उनले भने, ‘यस्तो बेलामा बीमाको आवश्यकताका बारेमा कम्पनीहरुले बीमा पोलिसी अध्ययन, बिक्री र भुक्तानीमा सहजीकरण गरिदिनुपर्छ। कम्पनीहरुको जिम्मेवारी पोलिसी बिक्रीमात्रै होइन, परिआए भुक्तानी पनि दिने हो नि। त्यो वातावरण तपाइँहरुले डिजिटल माध्यमबाट गर्न सक्नुपर्छ।’

‘डिजिटल रुपान्तरणमा हामीले धेरै काम गरिसकेका छौँ। तर, बीमा क्षेत्र कता–कता अल्मलिएको जस्तो देखिन्छ’, सिलवालले भने, ‘बीमाबाहेकका क्षेत्र हेर्नुहोस्, बैंक डिजिटल बेसमा चलिरहेको छ। अन्य वित्तीय संस्था डिजिटल रुपमा चलिरहेका छन्। सरकारका अन्य निकायहरु पनि डिटिजल बेसमा चलिरहेका छन्। बीमामा त्यो रुपमा अझै पनि डिजिटलाइजेसन गर्न सकिएको छैन। जसको बेफाइदा हामीले भोग्नुपर्ने अवस्था छ।’

‘अभिकर्ता संघले बीमामा डिजिटलाइजेसन गर्दा अभिकर्ताको रोजगारीमा असर गर्छ कि भन्ने चिन्ता व्यक्त गरेको सुनिन्छ’, उनले भने, ‘तपाइँहरुलाई म एउटा उदाहरण दिन्छु, नेपालमा सुरुमा कम्प्युटर प्रवेश गर्दा टाइपिस्टहरुलाई ठूलो त्रास थियो कि उहाँहरु विस्थापित हुनुहुनेछ। तर, उहाँहरुलाई कम्प्युटरसम्बन्धी ज्ञान दिएपछि एकजना पनि विस्थापित हुनुपरेन। अहिले पनि उहाँहरु कम्प्युटर अपरेटका रुपमा काम गरिरहनुभएको छ।’

त्यसका कारणले यो समयलाई हामीले छेकेर छेक्छौँ र प्रविधिलाई रोकेर रोक्छौँ भन्ने कुरा गर्ने हो भने कहीँ पनि पुग्न नसकिने अध्यक्ष सिलवालले स्पष्ट पारे। ‘त्यसैले अभिकर्ता साथीहरुलाई के आग्रह छ भने तपाइँ एजेन्सीहरुले यो काम गर्नुपर्यो। एजेन्सीहरुका साथीहरुलाई एकदमै स्किलफुल बनाउनुपर्यो।’

कार्यक्रममा विभिन्न जीवन बीमा कम्पनीका कर्मचारी र अभिकर्ता गरी १ हजार ३०० जनाभन्दा बढीको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS