IME Life New

पेशागत दायित्व (प्रोफेसनल लाएबिलिटी) बीमालेख: एक जानकारी, दिबस तिमल्सेनाको लेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कसैले आफ्नो वा आफैँले दायित्व वहन गर्नु पर्ने अरु कसैको त्रुटि, हेलचेक्रयाईँ वा लापरवाही जेसुकैबाट भए तापनि गरेको कुनै काम (कमिसन) वा अकर्मण्यता (ओमिसन) बाट कसैको जीउ, ज्यान वा सम्पत्ति वा कानून बमोजिम संरक्षित हक वा हितमा कुनै किसिमले हानी नोक्सानी भएमा नैतिक जवाफदेहिता मार्फत दायित्व सिर्जना हुन्छ । कसैको कार्य वा अकार्यको कारणबाट कोहि तेस्रो पक्षलाई हुन जाने क्षतिबाट निज प्रति जवाफदेहि भई भुक्तानी गर्नु पर्ने अवस्था सिर्जित हुनुलाई दायित्व भनेर बुझ्न सक्छौ । साधारणतया दायित्व दुई पक्ष बीच सिर्जना भई एकले अर्काेलाई भुक्तानी दिनुपर्ने अवस्था आइपर्न सक्छ । एक पक्षले गरेको कार्य वा नगरेको कार्यले अर्काे निर्दाेष पक्षलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था विद्यमान हुन सक्छ ।

सो अवस्थामा आर्थिक क्षतिपूर्तिको जोखिम रक्षावरण गर्न बीमा गरिएमा बीमाबाट आवश्यक क्षतिपूर्तिको जोहो हुन सक्दछ । “दायित्व” शिर्षक अन्तर्गत निर्जिवन बीमा क्षेत्रमा विविध बीमा पोर्टफोलियो अन्तर्गत छुट्टै बीमालेखहरुको व्यवस्था छ । जस अन्तर्गत प्रचलनमा मुख्यतया पब्लिक लाएबिलिटी बीमा, प्रोडक्ट लाएबिलिटी बीमा, कमर्सियल जनरल लाएबिलिटी बीमा, प्रोफेसनल लाएबिलिटी बीमा जस्ता बीमालेखहरु पर्दछन् ।

Esewa
Crest

पेशागत दायित्व बीमाको सम्बन्धमा बीमा समितिबाट पेशागत दायित्व तथा क्षतिपूर्ति बीमा सम्बन्धी मार्गनिर्देशन जारी गरी प्रचलनमा ल्याएको छ । यद्यपि यस सम्बन्धी उचित जानकारीको अभावमा न्युन संख्यामा मात्र यस प्रकारको बीमालेख जारी हुने गरेको छ । पेशागत रुपमा कुनै परियोजनामा कार्यरत पेशाकर्मीहरुले गरेका कार्य वा अकार्यको कारणले सो परियोजना माथि हुन सक्ने दायित्वको प्रतिरक्षा गर्नका लागि यस प्रकारको बीमालेख जारी गरिन्छ । परियोजना माथि तेस्रो पक्षलाई भुक्तान गर्ने दायित्व सिर्जना हुन निम्न चार तत्व विद्यमान हुनुपर्दछ ।

क. परियोजनामा कार्यरत पेशाकर्मीहरुको कार्य वा अकार्यहरु नीजको त्रुटि, हेलचेक्रयाईँ वा लापरवाहीको कारणबाट घटीत हुनुपर्दछ ।
ख. असल नियतले पेशाकर्मीले गरेको कारणबाट पनि कुनै तेस्रो पक्षमाथि अन्जानमा घटना घटेको हुनुपर्दछ ।
ग. पीडित तेस्रो पक्षले आफुलाई मर्का परेको घटनाबाट हुन गएको आर्थिक क्षतिको सोधभर्नाको लागि बीमितसंग दावी पेश गरेको हुनुपर्दछ ।
घ. तेस्रो पक्षलाई भुक्तान गर्ने दायित्व सिर्जना भएपश्चात सो दायित्वको प्रतिरक्षा गर्ने क्रममा कानूनी उपचारका लागि हुने वास्तविक आर्थिक क्षति हुनुपर्दछ ।

उक्त परियोजनाका पेशाकर्मी जस्तै इन्जिनियर, आर्किटेक्टले भुलवश गलत डिजाइन गरी तेस्रो पक्षको जीउधन माथि क्षति भएमा, सहि डिजाइन भए पनि भौगोलिक कारणले दुर्घटना घटि तेस्रो पक्षको जीउधन माथि क्षति भएमा बीमालेखले रक्षावरण गर्दछ ।

बीमितको जानकारी: बीमालेख जारी हुँदा परियोजनाको नाममा बीमालेख जारी गर्ने गरिन्छ । साथै बीमालेखमा परियोजनामा विशेष कार्य गर्ने पेशाकर्मीहरुको नामथर, पेशा सम्बन्धी योग्यता, अनुभव, दक्षता, जस्ता आधारभूत जानकारीहरु उल्लेख गरिएको हुनुपर्दछ । बीमालेखमा उल्लेख भए भन्दा बाहेकका व्यक्तिको कारणबाट हुने कुनै घटनाबाट दायित्व सिर्जना भएमा बीमालेखले रक्षावरण नगर्न सक्दछ ।

पेशागत कार्य: यस बीमालेख बमोजिम पेशागत कार्य भन्नाले निम्न पाँच प्रकारका कार्यलाई जनाउँदछ।
क. डिजाइन सम्बन्धी कार्य
ख. अनुगमन सम्बन्धी कार्य
ग. सम्भाब्यता अध्ययन सम्बन्धी कार्य
घ. प्राविधिक जानकारी सम्बन्धी गणना गर्ने कार्य
ङ. सर्भे सम्बन्धी कार्य

बीमांक निर्धारण: परियोजनाको अवधि भित्र, क्षेत्रगत र पेशागत त्रुटि र संलग्न अन्य पक्षहरुलाई पर्न सक्ने क्षतिको आंकलन गरी बीमांक निर्धारण गर्न सकिन्छ । तथापि नेपालको संदर्भमा भने कुनै परियोजनाको अध्ययन गर्ने कार्यको लागि अध्ययन रकमको सीमा सम्म मात्र खाम्ने गरी बीमांक रकम निर्धारण गर्ने गरेको पाइन्छ ।

स्मरणीय छ: डाक्टरले आफ्नो पेशागत क्षतिपूर्तिको बीमा, बिरामी हेरेको शुल्कको सोधभर्नाको आधारमा गर्ने कि बिरामी माथि कुनै घटना घटी तिनुपर्ने क्षतिपूर्तिको सोधभर्नाको आधारमा गर्ने ? तसर्थ बीमालेखको बीमांक कायम गर्दा पर्याप्त अध्ययन हुनु जरुरी छ ।

बीमा अवधि निर्धारण: बीमालेखमा बीमा अवधि समान्यतया परियोजनाको सुरु र तोकिएको अन्त्य मिति राखेर जारी गर्ने गरिन्छ । बीमालेखमा बीमा अवधिको अलावा थप केहि महिनाको रिपोर्टिङ पिरियडको समेत व्यवस्था गर्ने गरिन्छ । बीमा गरेको अवधिभित्र भएका कार्यले दायित्व सिर्जना भई सो अवधि पछि पत्ता लगेका वा आई परेका दावी पेश गर्न यस्तो रिपोर्टिङ पिरियडको व्यवस्था गरिएको हो ।

बीमा दावी: यस बीमालेख अन्तर्गत दावी निम्न तीन अवस्थामा गर्न सकिन्छ ।
क. कुनै तेस्रो पक्षले बीमित माथि दायित्व पेश गरेमा
ख. कुनै व्यक्तिले तेस्रो पक्ष दावी पेश गर्न सक्ने भनि कुनै आधार र कारण सहितको सुचना दिएमा
ग. बीमित आफैँलाई बीमा दावी पर्न सक्छ भन्ने यथोचित र वास्तविक आधारहरु छ भन्ने लागेमा

यस प्रकारका बीमालेखहरुको विशिष्ट व्यवस्था के छ भने, यस्ता बीमालेखको दायित्वको सिमा (क्वान्टम अफ लस) बीमांक रकमको हदमा नबढने गरी तोकिएका अड्डा अदालतले सो मुद्दामामिलाको फस्र्याैट गर्दा निर्धारण गरे बमोजिम हुनेछ । र पटक पटक परेका दावीहरुका सीमा समेत कुल बीमांक रकम (एग्रिगेट लिमिट) भन्दा बढि हुने छैन । सामान्यतया अड्डा अदालतबाट बीमा दावीको एकिन भएको मितिले १० दिन भित्र बीमा कम्पनीले दावी रकम प्रदान गरिसक्नु पर्नेछ ।

तसर्थ यस प्रकारको बीमालेख विशेष प्राविधिक प्रकृतिको भएको हुनाले जारी गर्नु अघि यथोचित अध्ययन र तथ्यांक संकलनमा उचित ध्यान दिनुपर्ने आवश्यक्ता रहन्छ ।

(दिबस तिमल्सेना सगरमाथा इन्स्योरेन्स कम्पनीमा कार्यरत छन् । लेखमा प्रयुक्त विचार लेखकका नीजि विचार हुन्, नीज कार्यरत संस्थाको आधिकारिक विचारको प्रतिनिधित्व गर्दैन ।)      

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS