IME Life New

क्यूआर भुक्तानीमा फड्को, महिनामै डेढ करोड पटक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली समुदायमा क्यूआर प्रणालीमार्फत कारोबार गर्ने क्रमले लोभलाग्दो फड्को मारेको छ। महिनामै क्यूआर कोडमार्फत डेढ करोडभन्दा बढी पटक कारोबार भइरहेको यस प्रणालीलाई हरेक नेपालीले अवलम्बन गर्दै गएको पाइएको हो।

भुक्तानीका लागि निकै सरल र सहज माध्यम बन्दै जाँदा क्यूआर कोडको प्रयोगले व्यापकता पाएको हो। पछिल्लो समय हरेक नागरिकको हातमा मोबाइल र इन्टरनेटको पहुँच पुगेसँगै क्यूआरतर्फ आकर्षित भएको देखिन्छ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकका अनुसार १ महिनामै डेढ करोड पटक क्यूआर कोडमाफर्त भुक्तानी भएको देखिन्छ। चालु आर्थिक वर्ष (आव)को ९ महिनामा क्यूआर कोडमार्फत १ करोड ६१ लाख ३ हजार १६४ पटक भुक्तानी भएको छ। गत साउनमा १ करोड १२ लाद ५७ हजार ३८८ पटक क्यूआर कोडमार्फत भुक्तानी भएको थियो। यस्तै गत आवको ९ महिनामा ७६ लाख ४४ हजार ७९१ पटक क्यूआर कोडमार्फत भुक्तानी भएको थियो।

तथ्यांकले क्यूआर कोडमार्फत हुने भुक्तानी ह्वात्तै बढेको देखिन्छ। पछिल्लो समय नेपालीहरुमा सहज भुक्तानीको माध्यम क्यूआर कोड बन्दै जाँदा यसको प्रयोग बढेको हो। कारोबार संख्या बढ्दै जाँदा क्यूआर कोडमार्फत हुने कारोबार रकम पनि बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

चालु आवको ९ महिनामा क्यूआर कोडमार्फत ४५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको छ। गत साउनमा २९ अर्ब ९९ करोड रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी भएको थियो। यस्तै गत आवको ९ महिनामा क्यूआर कोडमार्फत २२ अर्ब ८९ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो।

कारोबार संख्या र भुक्तानी रकम दुवै पछिल्लो समय क्यूआर कोडमार्फत भइरहेको तथ्यांकमा देखिन्छ। रिटेल पेमेन्ट सिस्टमअन्तर्गत अत्यन्तै सहज र सुरक्षित भुक्तानी प्रणाली मानिने क्यूआर कोडको सेटलमेन्ट नेपालभित्रै हुन्छ।

जानकारहरुका अनुसार क्यूआर कोडमार्फत रकम भुक्तानी गर्दा कुनै पनि शुल्क बाहिरी देशमा तिर्नुपर्दैन। सस्तो र सुरक्षित भुक्तानीका लागि एकदमै सहज भएकाले यसको प्रयोग बढ्दै गएको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका छन्।

क्यूआर कोडमार्फत निकै साना भुक्तानी पनि सहजै गर्न सकिन्छ। स्मार्टफोन र इन्टरनेटको पहुँच बढ्दा त्यसको सकारात्मक असर क्यूआर कोडतर्फ परेको हो। अझै पछिल्लो समय राजश्व भुक्तानी गर्न सक्ने सुविधासमेत क्यूआर कोडमा भएकाले आमनागरिकलाई सहज भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।

क्यूआर कोड प्रयोग गर्दा खाता नम्बर गलत पर्ने जोखिम रहँदैन। जुनसुकै भुक्तानीका लागि पनि यो माध्यम निकै सहज छ। क्यूआर कोड राखेपछि बैंक विवरण आफैँ देखिने र प्रयोगकर्ताले भुक्तानी गर्नुपर्ने रकममात्रै राखेर तिर्न सकिने भएकाले पनि यो प्रणाली लोकप्रिय बन्दै गएको हो।

गभर्नर महाप्रसाद अधिकारीले अहिले क्यूआर कोडमार्फत हुने भुक्तानी उत्साहजनक रुपमा बढिरहेको बताउँदै आइरहेका छन्। राष्ट्र बैंकले गत आवलाई विद्युतीय भुक्तानीको वर्षका रुपमा मनाएको थियो। गभर्नर अधिकारीले किराना पसल, तरकारी बजार हुँदै अन्य ठाउँमा समेत क्यूआर प्रणालीको सुरुआत गर्दै क्यूआरतर्फ नागरिकलाई जानका लागि प्रेरित गरेका थिए। सबै नेपालीको पहुँचसम्म विद्युतीय भुक्तानीलाई पुर्याउने लक्ष्यअनुरुप राष्ट्र बैंकले काम गरेको थियो।

ठेलागाडादेखि तरकारी पसलसम्म क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था बनेपछि जनता यसबाट लाभान्वित बनेका छन्। फलस्वरुप यसले व्यापकता पाएको राष्ट्र बैंकको बुझाइ छ।

चालु आवमा क्यूआर कोडमार्फत हुने भुक्तानी अझै बढी पुग्ने अनुमान छ। साथै, सरकारले आगामी आवको बजेटमार्फत डिजिटाइजेसनलाई आत्मसाथ गर्ने नीति लिएको छ। यसले विद्युतीय भुक्तानीलाई झनै बढावा दिने जानकारहरु बताउँछन्।

सरकारले आगामी आवको बजेटमा डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्घोष नै गरेको छ। यसले विद्युतीय भुक्तानीलाई झनै बढावा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS