IME Life New

बीमा पेसामा महिला सहभागिता अब आर्थिक आत्मनिर्भरताबाट नेतृत्व विकासतर्फ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको बीमा क्षेत्रमा हालै सार्वजनिक गरिएको बीमा अभिकर्ता इजाजतपत्र प्राप्त अभिकर्तासम्बन्धी तथ्यांकले एउटा सकारात्मक सामाजिक परिवर्तनको संकेत गरेको छ।

तथ्यांकअनुसार बीमा अभिकर्ता पेसामा सक्रिय महिलाको संख्या पुरुषको दाँजोमा बढी छ। आर्थिक क्षेत्रका धेरै पेसा अझै पुरुषप्रधान रहँदै आएको हाम्रो सामाजिक परिवेशमा यो उपलब्धि अर्थपूर्णमात्र नभएर प्रेरणादायी पनि छ।

Crest

तथ्यांकले के भन्छ ?

आर्थिक वर्ष २०८१।८२ सम्मको विवरण हेर्दा जीवन बीमा अभिकर्तामध्ये महिलाको सक्रियता उल्लेखनीय देखिन्छ। कुल सक्रिय अभिकर्तामध्ये महिलाको संख्या पुरुषभन्दा उल्लेख्य रुपमा बढी छ । नयाँ अभिकर्ता प्रवेश गर्ने समूहमा पनि महिलाको आकर्षण निरन्तर बढ्दो क्रममा छ।

कुल ४ लाख ४ हजार ५६४ सक्रिय अभिकर्तामध्ये सक्रिय महिला अभिकर्ताको संख्या २ लाख ७ हजार २३३ छ। यो कुल सक्रिय अभिकर्ता संख्याको ५१.२२ प्रतिशत हो। यसले बीमा पेसा महिलाका लागि आम्दानीको स्रोत मात्र नभएर दीर्घकालीन पेसा र आत्मनिर्भरताको माध्यम बन्दै गएको देखाउँछ।

महिलाका लागि किन सुहाउँदो छ अभिकर्ता पेसा ?

लचिलो कार्य समय, थोरै लगानी र व्यक्तिगत सम्बन्धमा आधारित पेसा बीमा अभिकर्ता पेसाका प्रमुख विशेषता हुन्। घरपरिवार, सन्तान र सामाजिक जिम्मेवारी सम्हाल्दै यो पेसा गर्न सकिने भएकाले यो पेसा महिलाका लागि व्यवहारिक विकल्प बनेको छ। साथै, विश्वास र सहानुभूतिमा आधारित सेवा क्षेत्र भएकाले महिलाको सामाजिक पहुँच र संवाद क्षमताले यस पेसामा थप सफलता दिलाएको भनाइ छ।

राष्ट्रिय सन्दर्भ र महिलाको अवस्था

नेपालको जनसंख्यामा महिलाको अनुपात करिब ५१ प्रतिशत छ। महिला साक्षरता दर करिब ६९ प्रतिशत पुगेको भए पनि औपचारिक रोजगारीमा महिलाको सहभागिता अझै ३० प्रतिशतभन्दा कम छ।

सार्वजनिक सेवामा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था छ। अझै पनि निजी तथा सेवा क्षेत्रमा महिलाले अझै पर्याप्त अवसर पाएका छैनन्। यस्तो अवस्थामा बीमा अभिकर्ता पेसाले महिलालाई औपचारिक रोजगारीको विकल्प, नियमित आम्दानी र आत्मविश्वास प्रदान गरेको देखिन्छ।

परिवार र समाजमा सकारात्मक प्रभाव

महिला अभिकर्ताको आम्दानीले परिवारको दैनिक खर्च व्यवस्थापन, सन्तानको शिक्षा–स्वास्थ्य र आकस्मिक जोखिमप्रति सचेतना बढाएको छ। बीमा अभिकर्ता बनेपछि महिलाहरु स्वयंमात्र नभएर आफ्नो परिवार र समुदायलाई पनि आर्थिक सुरक्षा र योजनाको महत्व बुझाउन सक्षम भएका छन्। यसले समाजमा बीमाप्रति विश्वास र पहुँच दुवै विस्तार गरेको छ।

दक्षिण एसियाली परिप्रेक्ष्य

दक्षिण एसियाका अन्य मुलुकसँग तुलना गर्दा नेपालको अवस्था उत्साहजनक देखिन्छ। भारतमा बीमा क्षेत्र ठूलो भए पनि महिला अभिकर्ताको अनुपात अझै २५–३० प्रतिशतको हाराहारीमा सीमित छ। बंगलादेशमा माइक्रोइन्स्योरेन्समार्फत महिलाको सहभागिता बढ्दो छ । श्रीलंकामा शिक्षा सूचक राम्रो भए पनि बीमा पेसामा महिला सहभागिता नेपालको स्तरमा पुगेको छैन। यी तथ्यले नेपाल दक्षिण एसियामै बीमा पेसामा महिला सहभागिताको दृष्टिले अग्रणी मुलुकमध्ये पर्न सक्ने संकेत गर्छ।

नेतृत्व विकासको नयाँ बाटो

बीमा अभिकर्ता पेसाले महिलालाई वित्तीय ज्ञान, निर्णय क्षमता र नेतृत्व विकासको अवसर प्रदान गरेको छ। आज धेरै महिला अभिकर्ता टिम लिडर, प्रशिक्षक र शाखा व्यवस्थापन तहसम्म पुग्न थालेका छन्। महिलाहरु वित्तीय परामर्शदाताको प्रतिनिधिमूलक अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)को वैश्विक सम्मेलनमा गर्वका साथ राष्ट्रिय झन्डा फहराउने अवसरसमेत पाएका छन्। यो अवस्था महिला सशक्तीकरणलाई नारामात्र नभएर व्यवहारमा उतारिएको उदाहरणका रुपमा लिन सकिन्छ।

निष्कर्ष

बीमा अभिकर्ता पेसामा महिलाको बढ्दो सहभागिता संख्यात्मक उपलब्धिमात्र नभएर यो सामाजिक आर्थिक रुपान्तरणको सूचक हो। महिलालाई आर्थिक रुपमा सक्षम बनाउँदै, परिवारको आर्थिक आधार बलियो बनाउँदै र नेतृत्व विकासतर्फ डोर्याउँदै आएको यो पेसा अब महिला सशक्तीकरणको प्रभावकारी माध्यम बन्दै गएको छ।

तीनवटै तहको सरकार, नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुले यो क्षेत्रमा लक्षित नीति, तालिम र प्रोत्साहनलाई थप सशक्त बनाए बीमा क्षेत्र महिलाको आर्थिक उन्नतिमा अझ निर्णायक बन्ने निश्चित देखिन्छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरूले उपयोग गर्न नसकेको संस्थागत उत्तरदायित्वसम्बन्धी कोषको रकम विपन्न तथा पिछडिएको वर्गसँगै महिलाको वित्तीय सशक्तीकरणको क्षेत्रमा समेत प्रयोग गर्न प्रेरित गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS