काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्तासम्बन्धी निर्देशिका २०८३ मार्फत बीमा अभिकर्ताका लागि आचारसंहिता जारी गरेको छ । यो आचारसंहितामा अभिकर्ताले गर्न हुने र नहुने कामहरुको विवरण समावेश गरिएको छ।
आचारसंहिताको मुख्य उद्देश्य सम्बन्धित पेसा व्यवसायमा संलग्न पेसाकर्मी स्वअनुशासनमा रहेर आफ्नो पेसागत दायित्व निर्वाह गरुन् र उनीहरुले पेसा गर्दा अन्य कुनै पक्षलाई हानी नोक्सानी नपुगोस् भन्ने हो।
यहाँ हामीले बीमा अभिकर्ताको आचारसंहिता २०८३ मा उल्लेख गरिएका बीमा अभिकर्ताले गर्नुपर्ने कामहरुको सूची समावेश गरेका छौँः
(क) इजाजत पत्रको प्रदर्शन र आधिकारिकताः बीमा अभिकर्ताले प्राधिकरणबाट प्राप्त आफ्नो इजाजतपत्र सधैँ साथमा राखुपर्छ र ग्राहकले चाहेमा वा बीमा व्यवसाय सुरु गर्नुअघि अनिवार्य रुपमा त्यस्तो इजाजतपत्र देखाउनु पर्छ।
(ख) बीमक र स्वार्थको खुलासाः अभिकर्ताले आफूले प्रतिनिधित्व गरेको बीमकको यथार्थ विवरण जानकारी गराउनुपर्छ र बीमा सिफारिस गर्दा आफ्नो कुनै व्यक्तिगत वा वित्तीय स्वार्थ भएमा सोको समेत पूर्व जानकारी गराउनुपर्छ।
(ग) तथ्यपरक परामर्श र पूर्ण जानकारीः ग्राहकलाई बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त, सुविधा, सीमा, अपवाद र दाबी प्रक्रियाका बारेमा बुइने भाषामा पूर्ण जानकारी गराउनुपर्छ।
(घ) कागजात संकलन र बीमकसमक्ष पेसः प्रस्ताव फाराममा खुलाउनु पर्ने सम्पूर्ण विवरण खुलाउन लगाई, ग्राहकको पेशा, आयस्रोत र जोखिमांकनका लागि आवश्यक विवरण तथा कागजात बीमितबाट प्राप्त गरी बीमकसमक्ष पेस गर्नुपर्छ।
(ङ) फाराम भराउने र प्रमाणीकरणः बीमा प्रस्ताव तथा स्वास्थ्यसम्बन्धी विवरण फाराम प्रस्तावक स्वयंबाट भराउनुपर्छ। प्रस्तावक निरक्षर वा असमर्थ भएमा निजले विश्वास गरेको व्यक्तिबाट भराई सोको जानकारी बीमकको प्रणालीमा प्रविष्ट गरी प्रस्तावकलाई समेत सोको पुष्टि गराउनुपर्छ।
(च) व्यावसायिक सेवा र दाबीमा सहयोगः निर्दिष्ट समयमा बीमाशुल्क बुझाउन, बीमालेख नवीकरण गर्न, इच्छाइएको व्यक्ति परिवर्तन गर्न, बीमालेख धितो राखी ऋण लिन तथा बीमितको दाबी भुक्तानी प्रक्रियामा सक्रिय समन्वय र सहयोग गर्नुपर्छ।
(छ) निर्णयको जानकारीः ग्राहकको बीमा प्रस्ताव स्वीकृत वा अस्वीकृत भएका बारेमा बीमकले गरेको निर्णय अविलम्ब जानकारी गराउनुपर्छ।
(ज) उपयुक्तता परीक्षणः बीमालेख सिफारिस गर्नुअधि बीमितको जोखिमको प्रकृति र वित्तीय क्षमताको लिखित वा मौखिक विश्लेषण गरी सोही आधारमा मात्र उपयुक्त बीमालेख प्रस्ताव गर्नुपर्छ।












