काठमाडौं । गत साता भारतको अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भयो। त्यो विमान लन्डन जाँदै थियो। यस दुर्घटनामा विमानमा सवार २४२ जनामध्ये एकजनामात्र बाँचे। विमान खसेको आवासीय भवनमा बसेका ३४ जनाको पनि ज्यान गयो।
सुरुमा चरा ठोक्किएर विमान दुर्घटनाग्रस्त भएको आशंका गरिएको थियो। तर, प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले यो सम्भावनालाई अस्वीकार गरेको छ। अनुसन्धानमा कुनै पनि चराको अवशेष फेला परेको छैन।
विमानस्थलमा चरा ठोक्किनु घातक
विमानस्थलबाट उडान भर्दा वा अवतरण गर्दा चरा ठोक्किनुको घटनालाई ‘बर्ड स्ट्राइक’ भनिन्छ। उडान भर्दा वा अवतरण गर्दा वा कम उचाइमा उडान भर्दा चरा ठोक्किने जोखिम सबैभन्दा बढी हुन्छ। यसबाट बच्न उड्डययन अधिकारी र एयरलाइन्सहरुले धेरै सुरक्षा नियम बनाएका छन्।
सानो चिज पनि घातक
यदि सानो कुरा लगभग ३५० किलोमिटर प्रतिघण्टाको गतिमा उडिरहेको विमानसँग ठोक्कियो भने यो खतरनाक हुन सक्छ। चरा ठोक्किनुको गम्भीर परिणाम हुन सक्छ। कहिलेकाहीँ चरा ककपिटमा ठोक्किँदा विन्डसिल्ड फुट्न सक्छ। यसले पाइलटलाई चोट पुर्याउन सक्छ। यदि चरा इन्जिनमा पस्यो भने यसले टर्बाइन ब्लेडहरुलाई क्षति पर्याउन सक्छ। यसले आगो निम्त्याउन सक्छ वा इन्जिन पूर्ण रुपमा बिग्रन सक्छ। यस्तो अवस्थामा केही सेकेन्डमा विमान दुर्घटनाग्रस्त हुन सक्छ।
मरेका कुखुराबाट परीक्षण
विश्वभरका एयरलाइन्सहरुले आफ्नो प्रमाणीकरण अघि विमानको शक्ति परीक्षण गर्छन्। चरा ठोक्किएमा सुरक्षा सुनिश्चित गर्न यो परीक्षण गरिन्छ। यी परीक्षणका क्रममा मरेका कुखुराहरुलाई इन्जिन र अन्य महत्त्वपूर्ण भागहरुमा प्रहार गरिन्छ ता कि यस्तो अवस्थामा विमानले कस्तो व्यवहार गर्नेछ भनेर हेर्न सकियोस्। यो अनौठो लाग्न सक्छ। तर, यो वैज्ञानिक रुपमा स्वीकृत विधि हो। यस परीक्षणमा ‘चिकन गन’ भनिने विशेष उपकरण प्रयोग गरिन्छ। यो एउटा शक्तिशाली एयर क्यानन हो। यो उच्च गतिमा चरा ठोक्किने प्रभाव अनुकरण गर्न प्रयोग गरिन्छ। यसले वास्तविक उडानको समयमा विमानले त्यस्ता टक्कर सहन सक्छ भनी सुनिश्चित गर्न मद्दत गर्दछ।
के पत्ता लाग्यो ?
यो परीक्षण विमानको विन्डशिल्ड र इन्जिनको वास्तविक–विश्व शक्ति मूल्यांकन गर्न गरिन्छ। सामान्यतया यो परीक्षण नियन्त्रित प्रयोगशालामा गरिन्छ। इन्जिनियरहरुले मरेको कुखुरालाई उच्च गतिमा प्रहार गर्छन् र उच्च गतिको क्यामेराले प्रभाव रेकर्ड गर्छन्। त्यसपछि फुटेजको विश्लेषण गरिन्छ। यसले क्षतिको हद प्रकट गर्दछ। यस परीक्षणमा वास्तविक कुखुरा प्रयोग गरिन्छ किनभने तिनीहरुको तौल र आकार उडानको समयमा विमानमा ठोक्किने चराहरुसँग मिल्दोजुल्दो हुन्छ। आज यो विधि विश्वभरका प्रमुख विमान निर्माताहरुले व्यापक रुपमा अपनाउँछन्।
बर्ड स्ट्राइक परीक्षण आवश्यक
विमानलाई उडानका लागि अनुमोदन गर्नुअघि यो विशेष प्रक्रिया गरिन्छ। जसलाई ‘बर्ड स्ट्राइक’ परीक्षण भनिन्छ। यस परीक्षणमा इन्जिन, ककपिट विन्डशिल्ड र पखेटाजस्ता महत्वपूर्ण भाग कडा फ्रेममा माउन्ट गरिन्छ। परीक्षणको आवश्यकताहरुमा निर्भर गर्दै उपयुक्त वस्तु चयन गरिन्छ। यो वस्तु सामान्यतया मरेको चरा हो। यो प्रभाव अनुकरण गर्न र घटकको लचिलोपन मूल्यांकन गर्न प्रयोग गरिन्छ। यस परीक्षणका लागि सामान्यतया मरेको भाले, सिन्थेटिक चरा वा जिलेटिन–आधारित बल प्रयोग गरिन्छ। धेरैजसो अवस्थामा मरेको भाले प्रयोग गरिन्छ।
विशेष एयर गन वा तोपजस्तो उपकरण स्थापना गरिएको छ। यो उपकरणले विमानको गतिबराबर गतिमा वस्तुलाई अगाडि बढाउँछ। यो गति लगभग ३०० देखि ५०० किलोमिटर प्रतिघन्टा छ।
मापदण्ड के हो ?
इन्जिन परीक्षणको अवस्था फरक–फरक हुन्छ। तर, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार यदि चरा इन्जिनमा पस्यो भने पनि इन्जिन कम्तीमा २ मिनेटका लागि ७५ प्रतिशत थ्रस्टमा चल्नुपर्छ। यो समय आपतकालीन अवतरणका लागि पर्याप्त छ। यो परीक्षण पास नगरी कुनै पनि विमान उड्न अनुमति छैन।

















