काठमाडौं । मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको ठूलो पराजयपछि अमेरिकाको वित्त मन्त्रालयले बुधबार भारत र टर्कीका कम्पनीहरुमाथि नयाँ प्रतिबन्ध लगाएको छ।
मन्त्रालयले चेतावनी दिएको छ कि यसले इरानी शासनलाई समर्थन गर्ने कुनै पनि व्यक्ति वा संस्थाविरुद्ध कारबाही जारी राख्नेछ। यो प्रतिबन्ध ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’को एउटा हिस्सा हो। जसको उद्देश्य इरानलाई तेल बिक्रीमार्फत पैसा जुटाउनबाट रोक्नु हो।
मन्त्रालयको बुधबारको निर्णय साझा गर्दै वित्तमन्त्री स्कट बेसान्टले एक्समा लेखे, ‘हामीले धेरैपटक भनेका छौँ– अपरेसन इकोनोमिक आउटकास्टअन्तर्गत तपाइँ या त हाम्रो साथमा हुनुहुन्छ वा हाम्रो विरुद्धमा हुनुहुन्छ। हामीलाई थाहा छ तपाइँ कहाँ हुनुहुन्छ। हामी इरानी शासनलाई समर्थन गर्न जारी राख्नेहरुविरुद्ध प्रतिबन्ध लगाउनेछौँ, चाहे तिनीहरुले जमिन, समुद्र वा हावाबाट त्यसो गर्छन्।’
मन्त्रालयको निर्णयमा भनिएको छ, ‘आज अपरेशन इकोनोमिक आउटकास्टको एक भागका रुपमा भारतमा आधारित सुनील कुमार शर्मा र उनकी श्रीमती जसप्रीत प्रिती शाहिदको प्रमुख आपराधिक सञ्जाललाई लक्षित गरिएको छ। जसले इरानको स्याडो फ्लिटलाई समर्थन प्रदान गरिरहेको थियो।’
प्रतिबन्ध सूचीमा अश्वनी कुमार धिमान (चण्डीगढ) र इश्विन्दर सिंह (चण्डीगढ) समावेश छन्।
यसका साथै प्रतिबन्धित कम्पनीहरुमा अलेक्सारिया मिडिया एन्ड इन्टरटेनमेन्ट, आर्यवर्त मेरिटाइम एण्ड एजुकेशनल ट्रस्ट, अलेक्सारिया फिनसर्भ, आर्यवर्त सिप म्यानेजमेन्ट (चण्डीगढ), इस्वातिनी मेरिटाइम अफेयर्स एण्ड इन्टरनेसनल सिप रजिस्ट्री (सिंगापुर), फुएगो ग्राउन्ड सर्भिसेज इंक (टर्की), ओशनिक टेक्नोलोजीज इन्डिया (चण्डीगढ), पोलिनेसिया मेरिटाइम (चण्डीगढ), प्रिसेप्ट ट्रेन्ड्स (चण्डीगढ), र विहारा बोटिङ (केरल) समावेश छन्।
यस नेटवर्कको योजनाको एक भागका रुपमा प्रतिबन्धित जहाजहरुलाई नक्कली झन्डा र नक्कली प्रमाणपत्र प्रदान गरिएको थियो। यी जहाज इरानी पेट्रोलियम ढुवानी गर्न प्रयोग गरिएको थियो। जसमा इरानी सेना र यसका सम्बद्ध कम्पनीहरुका तर्फबाट सञ्चालन हुने जहाजहरु पनि समावेश थिए।
यो उल्लेखनीय छ कि रिपब्लिकन पार्टीले मंगलबारको मध्यावधि चुनावमा ऐतिहासिक हार व्यहोर्नुपर्यो। दुवै सदनमा आफ्नो बहुमत गुमायो। अहिलेसम्मको नतिजा अनुसार प्रतिनिधिसभा र सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत छ। –एजेन्सी











