काठमाडौं । जीवनमा आइपर्ने हरेक कठिनाइलाई अवसरका रुपमा लिँदै अगाडि बढेका व्यक्ति हुन्, शिवकुमार कार्की। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा जन्मिएका शिवको हाल बसोबास भने हेटौंडा–४ मा रहेको छ। उनले सेल्स एन्ड मार्केटिङमा स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्।
२०३७ सालमा जन्मिएका शिवको बाल्यकाल मध्यमवर्गीय परिवारमा सुखमय नै रह्यो। ‘बुवा नगरपालिकामा र आमा वन कार्यालयमा जागिरे भएका कारण पनि सानैबाट परिवारमा कुनै किसिमको झमेला व्यहोर्नुपरेन’, उनले भने, ‘मेरो बाल्यकाल खासै कठीन भएन।’
शिवले २०५१ सालमा आफ्नो जन्मथलोबाटै एसएलसीसम्मको अध्ययन पूरा गरे। त्यसपछि उनले प्लसटु र स्नातक तह पनि हेटौंडाबाटै पूरा गरे भने स्नाकोत्तर चाहिँ सिक्किम मनिपाल युनिभर्सिटीबाट पूरा गरेका हुन्।
हाल शिव सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा चिफ बिजनेस अफिसरको भूमिका छन्। शिवले कम्पनीको हेटौँडा क्षेत्रअन्तर्गत रहेका १९ वटा शाखा कार्यालयको निगरानी गर्छन्।
शिवले आफ्नो क्षेत्र मातहतमा रहेका शाखाहरुमा बीमाका नीतिगत कानुनी व्यवस्था आफूले पालना गरी एरिया ब्रान्च म्यानेजर, शाखा प्रमुख, कर्मचारी, अभिकर्तालाई कार्यान्वयनमा ल्याउने, नियमनकारी निकायको निर्देशन पालना गर्ने गराउने, रिपोर्टिङ गर्ने, एरिया, ब्रान्चका प्रमुख, अभिकर्ता र कर्मचारीको क्षमता विकासका लागि समय–समयमा विभिन्न तालिमको व्यवस्था गराउने, कम्पनीको व्यावसायिक उद्देश्य पूरा गर्न लागिपर्ने, कामको योजना बनाउनेलगायतका जिम्मेवारी बहन गर्दै आइरहेका छन्। यतिमात्रै होइन उनले बीमामा सबैको पहुँच विस्तार गर्न आफ्नो क्षेत्रका विभिन्न ठाउँमा गएर बीमा शिक्षा र बीमा सचेतना वृद्धि हुने खालका कार्यक्रम आयोजनासमेत गर्ने गर्छन्।
बाल्यकाल सुखमय रुपमा बिताए पनि शिवले प्लसटु गर्दै गर्दा काम सिक्ने भनेर बिजुली पसलमा काम गर्न थाले। त्यसपछि उनले स्नातक तह पढ्दै गर्दा आफ्नै बिजुली पसल सुरु गरे। ‘त्यो समयमा मैले राम्रो व्यापार गरेँ’, उनले भने, ‘पसल सुरु गरेको १० वर्षसम्म व्यापार धेरै फस्टायो। त्यो समयमा भएको व्यापार अहिलेको अवस्थामा धेरै नै राम्रो थियो। व्यापार भनेको सधैँ एकैनाश चल्ने होइन, कहिले घाटा हुन्छ त कहिले नाफा हुन्छ। कहिले व्यापार नै हुन्न। त्यसमा पनि हामीले सन्तोष नै मान्नुपर्छ। त्यही त हो।’
आफ्नै व्यवसायमा मग्न शिवलाई साथी गणेश चौलागाईंले पसलसँगै बीमा व्यवासयमा लाग्न प्रेरित गरे। शिवका साथी गणेश चाहिँ पहिलाबाटै साविक प्राइम लाइफमा ब्रान्च म्यानेजर थिए। त्यसपछि शिवलाई पनि साथीले ‘बीमामा आउनुस्, पसलसँगै बीमा क्षेत्रमा पार्टटाइम काम गर्नुस्, राम्रो हुन्छ, बीमा क्षेत्र भनेको सामाजिक भलाई हुने पेसा पनि हो। तपाइँको राम्रो चिनजान साथी सर्कल पनि छ, आउनुस्’ भने। साथीको प्रेरणा र हौसलाले शिव बीमा क्षेत्रमा जाने निधो गरे। ‘साथीलाई सहयोग गर्छु’ भन्ने हिसाबले उनी २०६४ सालबाट साविक प्राइम लाइफमा अभिकर्ताका रुपमा लाइसेन्स लिएर छोटो समयमै एजेन्सी म्यानेजर भई काम गर्न थाले।
आफू बीमा क्षेत्रमा आउनुअघि शिवलाई बीमाबारे जानकारी थियो। उनले २०५८ सालमा आफ्नो बीमा भने गराइसकेका थिए। उनले स्नातक तह अध्ययन गर्दा पनि मकानपुर जिल्लामा जीवन बीमाको अवस्थाका बारेमा थेसिस गरेका थिए। यो हिसाबले पनि शिवलाई बीमाबारे ज्ञान थियो। बीमा परोपकारी सेवाको क्षेत्रलगायत विभिन्न सकारात्मक पाटोले शिवलाई तानेको बताउँछन्।
साविक प्राइम लाइफमा एजेन्सी म्यानेजर भएर काम गरेको २ वर्षमै शिव ब्रान्च म्यानेजरको भूमिकामा पदोन्नति भए। उनले आफ्नो काम र जिम्मेवारीलाई सधैँ प्राथमिकतामा राखेर काम गर्ने भएर पनि होला बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै व्यावसायिक र व्यक्तिगत दुवै उपलिब्ध हासिल गरे। उनले साविक प्राइम लाइफमा साढे ४ वर्ष ब्रान्च म्यानेजर भएर काम गरे।
त्यसपछि शिवले बीमा क्षेत्र केही समयका लागि छोड्ने निधो गरे। बीमा क्षेत्र छोडेर फेरि उनी पसलमै ब्याक भए। उनले त्यो बीचमा २ वटा पसल सुरु गरे। एउटा इलेक्ट्रिक र अर्को मोबाइल पसल।
त्यसपछि नेपाली बीमा बजारमा २०७४ सालमा १० वटा नयाँ कम्पनी खुले। नयाँ कम्पनी खुलेसँगै पहिला शिवसँगै काम गरका साथीहरु ती १० वटा नयाँ कम्पनीमा छरिए। अनि शिवले चिनेको साथीभाइलाई ‘कहीँकतै ठाउँ भए मलाई पनि भन्नुस् है’ भनेका थिए।
नयाँ आएका कम्पनी, नयाँ टिम र नयाँ ऊर्जा बोकेको कम्पनीमा काम गर्न शिवलाई पनि रहर थियो। त्यसपछि कवि फुयाललाई शिवले सिटिजनमा प्रवेश गर्न पाए राम्रो हुन्थ्यो इनर्जी बोकेको कम्पनी भने, त्यसपछि फुयालले ब्रान्च म्यानेजरका लागि कुरा गरे। कम्पनीको सबै नीति–नियम पूरा गरी शिव २०७४ सालमा सिटिजन लाइफको ब्रान्च म्यानेजरमा प्रवेश गरे।
व्यावसायिक ज्ञान भएका शिवले बीमा क्षेत्रमा पनि राम्रो कार्य प्रदर्शन गरे। ब्रान्च म्यानेजर भएको २ वर्षपछि नै शिव एरिया ब्रान्च म्यानेजर हुन सफल भए। त्यसको २ वर्षपछि फेरि एरिया रिजनल म्यानेजर भए। त्यसपछि अहिले उनी चिफ बिजनेस अफिसरका रुपमा कार्यरत छन्। विभिन्न चुनौती, बाधा अनि अड्चनलाई झेल्दै अहिले शिवले सफलता हात पारेका छन्।
सिटिजन लाइफ नै किन रोज्ने भन्ने प्रश्नमा शिवले भने, ‘कम्पनीको प्रोमोटर टिम, बीमा बेच्दा बीमितलाई दिने अतिरिक्त सेवा–सुविधा, कम्पनीको बीमा योजना, व्यवस्थापन टिम, बोनसदरलगायतका यावत फ्याक्टर समयसापेक्ष छ। यो हिसाबले पनि सिटिजन लाइफ रोज्नुपर्छ। मैले सिटिजनमात्रै राम्रो र अरु नराम्रो भन्न खोजेको होइन तर सिटिजन लाइफ समयसापेक्ष र ग्राहकमुखी सेवामा प्रतिबद्ध छ।’
अन्य ठाउँमा भन्दा मधेस एरियामा बीमा पहुँच कम नै रहेको शिवको भनाइ छ। ‘बीमा कम्पनी र बीमा प्राधिकरणले बीमा जागरण कार्यक्रम त गरिरहेका छन्। तर, जति मात्रामा हुनुपर्ने भएको छैन’, उनले भने, ‘विस्तारै मधेसबासीले बीमा बुझ्दैछन्, अब आउने दिनमा राम्रै उपलिब्ध होला।’
‘सिटिजन लाइफ यस्तो कम्पनी हो, जसले बीमा जागरणमात्रै होइन कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता, ब्रान्च हेडहरुलाई समय–समयमा तालिम दिने गरेको छ। कम्पनीमा कार्यरतलाई तालिमका लागि सिटिजनले कुनै कसुर बाँकी राख्ने गरेको छैन। कसरी हुन्छ कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धि नै हाम्रो टार्गेट हो। किनकि अभिकर्ता र कर्मचारी राम्रो शिक्षित भए भने सर्वसाधारणमा बीमा बुझाइ राम्रो हुन्छ’, शिवले भने, ‘कर्मचारीलाई कम्पनीमात्रै नभएर बाहिरी ज्ञान पनि आवश्यक छ भन्ने उद्देश्यले सिटिजन लाइफले सिटिजन कलेज सञ्चालनमा ल्याएर कर्मचारीलाई बैंकिङ, डिजिटललगायतका धेरै विषयमा तालिम दिने गरेको छ। समय समयमा सामाजिक अभियान्ता, प्रहरी, डिजिटल क्षेत्रका व्यक्तित्व, बैंकिङ क्षेत्रका व्यक्तित्वलाई बोलाएर कार्यक्रम गरेका छौँ।’
नयाँ कर्मचारी भित्र्याउने प्रवृत्तिभन्दा पनि भएका पुराना कर्मचारीलाई तालिम दिएर दक्ष बनाएर माथिल्लो तहमा अपग्रेड गर्यो भने बीमा बजार राम्रो हुने शिवको बुझाइ छ। ‘यो कर्मचारीको हितका लागि पनि राम्रो र कम्पनीका लागि पनि राम्रो पक्ष हो’, उनले भने, ‘एउटै कम्पनीमा काम गर्नु दुवै पक्षका लागि राम्रो हो, मेरो विचारमा। एक ठाउँमा काम गरिरहेको मानिसलाई अर्को कम्पनीमा जाँदा त्यहाँ घुलमिल हुन, वातावरण बुझ्न, काम सिक्न समय लाग्छ। यी सबै कुरा त्यहाँ सुट हुन्छ भन्ने पनि हुँदैन। जस्तो कि एउटा बिरुवालाई नयाँ ठाउँमा सार्दा त्यहाँ सर्न पनि सक्छ र नसर्न पनि सक्छ। तर, आफैँ उम्रिएको ठाउँमा मलजल मिल्यो भने फस्टाउँदै जान्छ। त्यस्तै हो, कर्मचारी पनि जुन कम्पनीमा आफू पनि अपग्रेड भइरहेको छ र कम्पनीलाई पनि राम्रो भइरहेको छ भने पुरानो कम्पनीमै काम गर्दा उत्तम हुन्छ।’
बीमा क्षेत्रको लामो यात्रामा शिवसँग धेरै खाले अभिकर्ता भेट हुने मौका जुर्यो। ‘कुनै अभिकर्ता छोटो समयका लागि मान, सम्मान र इज्जत कमाउन आउने, कुनै अभिकर्ता दीर्घकालीन पेसा अपनाएर आउने, कुनै अभिकर्ता साथीभाइले भनेको भरमा ज्ञान विना आउने हुन्छन्’, उनले भने, ‘तर, बीमा क्षेत्रमा जस्तोसुकै प्रवृत्तिका अभिकर्ता भित्रिए पनि कम्पनीले उनीहरुलाई बीमासम्बन्धी ज्ञान दिएर, बीमा बुझाएर दीर्घकालीन टिक्ने गरी अवसर सिर्जना गर्यो भने जस्तोसुकै अभिकर्ता पनि दीर्घकालीन हुन्छ।’
अभिकर्ता बीमा बजारमा दीर्घकालीन भयो भने बीमा बजार पनि राम्रो हुने शिवको भनाइ छ। कम्पनीले अभिकर्तालाई बीमा बजारमा टिक्ने, टिम वृद्धि गरेर सक्षम बनाएर सबैले आम्दानी गर्नेप्रति अभिकर्तालाई सचेत बनाएर बीमा बजार दीर्घकालीन बनाउनुपर्नेमा उनको जोड छ।
शिवको विचारमा बीमा यसकारण आवश्यक
पछिल्लो समयमा बीमा आधारभूत आवश्यकता बनेको छ। जस्तो गास, बाँस, कपास, शिक्षा र स्वास्थ्य नभई नहुने आवश्यकता भएजस्तै बीमा पनि एक आधारभूत आवश्यक्ता हो। साथै, बीमा बचत तथा सुरक्षाका लागि पनि आवश्यकता छ। जोखिम बहनसँगै भविष्यको योजनाका लागि पनि बीमा गर्न सकिन्छ। पहिला संयुक्त परिवार हुन्थ्यो भने अहिले एकल परिवार बढ्दो छ। संयुक्त परिवारमा एउटालाई क्षति हुँदा अरुले हेरविचार गर्दथे। अहिले एकल परिवारमा एकजनाले कमाउँछ र उसलाई केही हुँदा आर्थिक अवस्थामा क्षति पुग्छ भने आश्रित परिवारलाई आर्थिक क्षति हुन्छ। यो समस्यामा राहात पाउन पनि बीमाको आवश्यकता छ।
अन्त्यमा कम्पनीलाई आफ्नो परिवार सम्झेर अभिभावकको भूमिका निर्वाह गर्ने भूषण रिमाल सर र दीप बीसी सरलाई शिवरले आभार व्यक्त गरे। साथै, आफ्नो सफलता नै कम्पनीको सफलता हो भन्दै उनले म्यानेजमेन्ट टिम, चिफ मार्केटिङ अफिसर, कर्मचारी र अभिकर्ता सबैलाई धन्यवाद दिए। उनले आफूलाई कम्पनीले तोकेको एरियामात्रै सफल र सक्षम बनाउन नभई समग्र कम्पनीको बीमा व्यवसायलाई नै राम्रो बनाउने उद्देश्यले अगाडि बढ्ने गरेको पनि बताए।
सिटिजन लाइफको डिजिटल अवधारणाले बीमा गराउन र गर्न सहज भएको शिवको अनुभव छ। ‘डिजिटल भएपछि मानिसमा विश्वास बढेको छ’, उनले थपे, ‘सिटिजन लाइफमा धेरैजसो कारोबार त डिजिटल माध्यमबाटै हुन्छ। यो हुँदा ग्राहकलाई पनि सहज र बीमा कम्पनीलाई पनि सहज हुन्छ।’
सधैँ बीमितको हितलाई समर्थन गर्दै सिटिजन लाइफ अगाडि बढ्ने शिवको विश्वास छ। बीमा क्षेत्रको अलवा मकवानपुर शारीरिक सुगठन संघ,लायन्स क्लब, जेसिज, विद्युत व्यवसायी संघमा कुशल नेतृत्व गरिसकेका शिव रोटरी क्लब अफ मकवानपुर, नेपाल व्यवस्थापन संघ, नेपाल शारीरिक सुगठन संघ(राष्ट्रिय निर्णायक) लगायतका धेरै संघ-संस्थामा आबद्ध छन्।
शिवले बीमा क्षेत्रबाट पनि विभिन्न ठाउँ देश विदेश घुम्न जाने मौका पाएका छन्। आफ्नो जीवनकाल नै बीमा क्षेत्रमा बिताउने उनले प्रतिबद्धसमेत व्यक्त गरे।